सिरहा, चैत्र १२

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई कालो झण्डा देखाउने क्रममा जनमत पार्टीका दुई कार्यकर्तालाई जनता समाजवादी पार्टी नेपालका कार्यकताबाट सिरहामा कुटिएका छन् ।

जनमत पार्टी सिरहा र किसान आन्दोलन संघर्ष समिति सिरहाका कोषाध्यक्ष समेत रहेका रञ्जित साह र जनमतका कार्यकर्ता सन्तोष यादवलाई जसपाको कार्यकर्ताको आक्रमणमा घाइते भएका हुन् । दुबैजनाको उपचार स्थानीय क्लिनिकमा भएको जनाइएको छ ।

मिर्चैया कल्याणपुर सिरहा सडक खण्डलाई शिलान्यास गर्न पुगेकी मन्त्री यादवलाई कल्याणपुरमा कालो झण्डा देखाउने क्रममा दुबैजनामाथि सांघातिक आक्रमण भएको जनमतका नेता विपी साहले बताए ।

उनले भने, ‘लोकतन्त्रमा शान्तिपूर्ण रुपमा कालो झण्डा देखाएर विरोध गर्न जनताको अधिकार हो । के उपेन्द्र यादवको पार्टी जसपाले गुण्डाराज कायम गर्न खोजेका हुन् ?’ उनले प्रश्न गर्दै भने ‘यदि लोकतन्त्र हो भने आक्रमण गर्नेमाथि कारबाही हुनुपर्छ भन्ने जनमत पार्टी माग गर्दछ ।’

अन्य जिल्लाहरुमा जसपाले यस्तो गतिविधि गरे झडपको अवस्था सृजना हुन सक्ने भएकाले दोषीमाथि कारबाहीको पार्टीले माग गरेको साहले बताए ।

सिरहको कल्याणपुरमा मन्त्री यादवसहित प्रतिनिधिसभा सदस्य राजकिशोर यादव र प्रदेशसभा सदस्य सुरेश मण्डल संयुक्तरुपमा सडकको शिलान्यास गरेका थिए ।