
जनकपुर, चैत्र १३
धनुषाको विदेह नगरपालिका स्थित तिनकौरीया चोकको एक पसलमा आगजनी गरिएको विषयमा आक्रोशित स्थानीय र प्रहरीबीच झडप भएको छ ।
स्थानीय सन्तोष कुमार मण्डलले सञ्चालन गर्दै आएको शान्ता पान पसलमा आगजनीको विषयमा स्थानीयले आइतबार विहानै देखि सडक अवरुद्ध पारेर प्रदर्शन गरेका थिए ।
सोही सडक खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा झडप भएपछि अवस्थालाई नियन्त्रणमा लिनका लागि प्रहरीले आधा दर्जन बढी अश्रुग्यास सेल प्रहार गरेका थियो ।
सो झडपमा २ जना प्रहरी सामान्य घाइते भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
यता पसलमा आगजनी भएको घटनापछि स्थानीय प्रदर्शनले उग्ररुप लिन थालेपछि अवस्थालार्य सामान्य बनाउनका लागि प्रहरी प्रशासन, स्थानीय र जनकपुर उद्योग वाणिज्य संघ बीच त्रीपक्षिय वार्तामा ३ बुँदे सहमति भएको जनाइएको छ ।
आगजनी घटनामा स्थानीय प्रहरीसहित प्रहरी अधिकारीलाई कारबाही गर्ने, तत्कालन नयाँ टोली पठाउने, पीडित पसल संचालकलाई विदेह नगरपालिकाबाट क्षतिपूर्ती र विदेह नगरमा जडान गरिएको सीसी क्यामेरा अविलम्ब संचालन गर्ने सहमति भएको वार्तामा सहभागी जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।
स्थानीय सन्तोष मण्डलले संचालन गर्दै आएको शान्ता पान पसलमा मोटर पार्ट्स तथा कस्टमेटिकको पसल समेत संचालन गर्दै आई रहेका थिए ।
शनिबार राति सो पसलमा मोटरसाईकलमा आएका केही व्यक्तिहरुको समूहले आगजनी गरेको पसल संचालक मण्डलको आरोप छ । उनका अनुसार आगजनीबाट २० लाखभन्दा बढीको क्षति भएको छ ।
यता मण्डलले भने ‘तिनकौरिया प्रहरी चौकीको ५० मिटरकै दुरीमा रहेको पसलमा आगजनी हुँदा समेत प्रहरीले तदारुकता देखाएन ।’ प्रहरीले आगजनी घटनामा समेत तदारुकता नदेखाएकै कारण स्थानीय आक्रोशित भएर प्रहरी प्रशासन विरुद्ध नारावाजीमा उतरिएका थिए ।
यता पसलमा आगजनी गरिएको वा आगलगी भएको विषयमा अनुसन्धान भईरहेको धनुषा प्रहरी प्रवक्ता वस्नेतले बताए । यसका साथै तिनकौरिया प्रहरी चौकीमा रहेको सई आशनारायण गिरी नेतृत्वको ७ जनाको प्रहरी टोलीलाई परिवर्तन समेत गरिएको छ ।