
जनकपुर, चैत्र १४
निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका चुरे वन जंगल अभियानीहरुलाई प्रहरीले पक्राउ गरेका छन् ।
चुरे वन जंगलको संरक्षण तथा भुमिहीन सुकुम्बासीहरुको हकहीतको मुद्दा उठाउँदै अभियानीहरुले मधेश प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराउ गर्दा पक्राउ परेका हुन् ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको भन्दै प्रदर्शनकारी मध्ये ३९ जना प्रहरीले पक्राउ गरेका छन् ।
सिरहाको मारुती सिमेन्टले चुरे क्षेत्रको जग्गा अतिक्रमण गरेको, चुरे क्षेत्रको जग्गा भूमिहीनको नाममा व्यक्तिले कब्जा गरेर विक्री गरेको विषयमा छानबिनका लागि विगतमा मधेश सरकारसँग चुरे तथा वन जंगल संरक्षण अभियानले गरेको आन्दोलनपछि गठित छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै सोमबार विरोध प्रदर्शन गरिरहेका थिए ।
प्रदर्शनकारीहरुले भूमिहीन, दलित तथा सुकुम्वासीको समस्या सिघ्र समाधान गर्नका लागि समेत माग गरेका छन् ।
जुलुस, हड्ताल तथा नाराबाजी गर्न निषेधित क्षेत्र रहेकाले प्रहरीले घेराउ गर्न पुगेका आन्दोलनकारीलाई पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक समेत रहेका प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
करिब वर्ष दिन अघि अभियानीहरुले गरेको आमरण अनसनको क्रममा तत्कालिन प्रदेश २ सरकारले चुरे वन जंगल र मारुती सिमेन्टले सिरहामा गरेको जग्गा अतिक्रमणको विषयमा छानविन गरि २१ दिन भित्रमा प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो ।
तर सो प्रतिवेदन अहिलेसम्म पनि सार्वजनिक नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको अभियानका अध्यक्ष सुनिल यादवले बताए ।