जनकपुर, चैत्र १५
तराई–मधेशमा अहिले चर्को घाम लाग्ने गरेको छ । अत्याधिक गर्मीका कारण सर्वसाधारण आजिज छन् ।
मौसम परिवर्तनसँगै गर्मी छल्न मानिसहरु पंखा, एयरकन्डिसन वा रुखमुनि बसेर शितलताका लागि विभिन्न स्थानको खोजीमा हुन्छन् । तराई मधेशमा गर्मीबाट बच्न सर्वसाधारण नागरिक आफ्नो हैसियत अनुसार पंखा, कुलरजस्ता विद्युतीय सामान धमाधम किनेर गर्मी छल्ने प्रयास गरिरहेका छन् । तर यस्तो गर्मी मौसमा धनुषाको एक स्थानीय तहले सिरक र कम्बल बाँडिरहेको छ ।
आसन्न स्थानीय चुनाव नजिकदै जाँदा विस्तारै मौसमी गर्मीको पारो पनि चढ्दैछ । अर्कातिर चुनावी सरगर्मीले पनि तराई–मधेशलाई तताएको यी दुवै गर्मीबीच तराई–मधेशकै धनुषामा एउटा अनौठो दृश्य देखिएको छ । अन्य स्थानीय तहहरुले जाडोबाट छल्न सिरक र कम्बल मंसिर पुसमा बाडेपनि धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष भने जाडो छल्न हिउँदमा चाहिने कम्बल अहिले बाँडेर मतदाता फकाउँदैछन् ।
यस्तो गर्मीमा पनि फाईवर सिरक वितरण गरिरहेको सुन्दा तपाईँलाई आश्चर्य लाग्न सक्छ । तर धनुषको बटेश्वर गाउँपालिकाले जाडोको बेला बाँड्नुपर्ने न्यानो कम्बल अहिले धमाधम बाँडिरहेको छ । गाउँपालिकाले मंगलबार पाँचवटा वडामा ७ सय ५० जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ। यसअघि आठ लाख रुपैयाँ घुसकाण्डमा मुछिएका गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले गर्मीका बेला जाडोमा चाहिने कम्बल बाँडिरहेको स्थानीयले बताएका छन् ।
जाडो महिनामै बाँड्नुपर्ने कम्बल त्यति बेला वितरण गर्न नसक्दा अहिले वितरण गरिको एकजना जनप्रतिनिधिले बताए । गाउँपालिका अध्यक्ष राउत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीको छापापछि १९ चैत २०७७ मा ८ लाख रुपैयाँ घुस सडकमा फ्याँकेर भागेका थिए। अख्तियारको टोली आएको थाहा पाएपछि अध्यक्ष राउत घुस लिएको रकम फ्याँकेर फरार भएका थिए । अख्तियारको टोलीले त्यसबेला अध्यक्ष राउत चढ्ने गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो ।
अख्तियारले अध्यक्षको प्र–२–०२–००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको थियो । विकास निर्माणका योजनाहरूको कामको भुक्तानी दिन अध्यक्ष राउतले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएका थिए ।