जनकपुर, चैत्र १६

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्दै आलोचना गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सरकारमा सहभागी हुनका लागि बैठक बस्दैछ ।

स्थानीय तहको चुनावअघि सरकारमा सहभागी हुने गरी लोसपाले तयारी थालेको हो । त्यसका लागि लोसपाले बुधबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । आजको बैठकले लोसपा नेपाल सरकारमा सहभागी विषयमा छलफल गर्दैछ ।

जनता समाजवादी पार्टी नेपालबाट अलग भएको लोसपाले संसदमा देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेको थियो । त्यसपछि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा पनि लोसपाले खुलेर समर्थन गरेको थियो । एमसीसी पास गराउन सुरुदेखि लोसपाले प्रधानमन्त्री देउवाको साथमा थियो । जबकि काँग्रेससँग गठबन्धन गरेका दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले एमसीसीको विरोधमा थिए ।

त्यो बेला लोसपाले काँग्रेसलाई साथ दिएको थियो । सरकारको विपक्षमा हुँदाहुँदै पनि लोसपाले प्रधानमन्त्री देउवालाई समर्थन गरेकै कारण सरकारमा सहभागीताको वातावरण बनेको हो ।

प्रधानमन्त्रीका लागि संसद्मा विश्वासको मत लिन लाग्दा सभापति शेरबहादुर देउवाले समर्थनका लागि महन्थ ठाकुरलाई पत्र लेखेर आग्रह गरेका थिए । त्यतिबेला जसपामै रहेका अध्यक्ष ठाकुर अलग हुने तरखरमा थिए । जसपामा उनको छुट्टै गुट थियो । जसपाका अध्यक्ष उपेन्द्र यादवले समर्थन गरिसके पनि महन्थ ठाकुर पक्षका सांसदको पनि समर्थनका लागि प्रधानमन्त्री देउवाले अध्यक्ष ठाकुरलाई पत्र पठाएका थिए । पत्र पठाउनुअघि देउवाले महन्थ ठाकुरसँग संवाद पनि गरेका थिए । र,त्यो संवादमा पनि देउवाले ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

तर ठाकुरले जसपामा अन्तरद्वन्द चलिरहेको अनि आफूहरुको अहिले कुनै पार्टी नभएकाले छुट्टै दल बनाउन व्यवस्था गर्दिन आग्रह गरे । नयाँ पार्टी बनाएपछि सरकारमा आउने आश्वासनपछि देउवाले राजनीतिक दल गठन सम्बन्धी अध्यादेश ल्याए । त्यसपछि महन्थ ठाकुरहरु जसपाबाट अलग भएर लोसपा गठन गरेका थिए ।

गत भदौमा लोसपा गठन भएपछि महन्थ ठाकुरले पटक पटक प्रधानमन्त्री देउवासँग संवाद गरे । सरकारमा कसरी सहभागी हुने त्यसका बारेमा उनीहरुको बीचमा पटक पटक छलफल भयो । तर सरकारमा सहभागी हुने वातावरण बनेन । जबकि भित्री रुपमा प्रधानमन्त्री देउवाको सम्बन्ध उपेन्द्र यादव नेतृत्वको जसपा भन्दा ठाकुर नेतृत्वको लोसपासँग छ ।

लोसपा सरकारमा नभएपनि हरेक कठिनाइको समयमा लोसपाले देउवालाई साथ दिएको छ । एमसीसी प्रकरणमा काँग्रेस पार्टीभित्रै देउवाको विरोध भइरहँदा लोसपाका अध्यक्ष महन्थ ठाकुर उनको साथमा उभिए । यिनै विश्वासको सम्बन्धले गर्दा देउवाले अध्यक्ष ठाकुरलाई सरकारमा ल्याउन चाहेका छन् ।

सरकारमा सहभागीका लागि दुवै पक्ष सकारात्मक छन् । कतिवटा र कुन कुन मन्त्रालय लिनेमा अहिले दुवै पक्षको बीचमा कुरा मिलिरहेको छैन । लोसपाका अध्यक्ष ठाकुरले चारवटा मन्त्रालय माग गरिरहेका छन् तर देउवा दुईटा मन्त्रालय दिन तयार छन् । चारवटा नभए तीनवटा त जसरी पनि दिनुपर्छ भनी लोसपाको अडान छ ।

लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले सरकारमा जाने विषयमा अहिले कुनै कुरा टुगों नलागेको बताए । उनले भने, ‘अहिले प्रारम्भिक छलफल मात्र भएको छ,छलफल सकारात्मक रुपमा अगाडि बढेको छ ।’ आफूहरुको प्राथमिकता सरकार होइन,मधेशको मुद्दा हो,त्यो मुद्दा कार्यान्वयन भयो भने मात्र आफूहरु सरकारमा जाने बताउँदै उनले सरकारमा जानका लागि लोसपालाई हतार नरहेको बताए ।

मधेशको माग कसरी पुरा गर्ने विषयमा प्रधानमन्त्री देउवासँग छलफल चलिरहेको छ,माग पुरा गर्न उनी सकारात्मक रहेको उनले बताए । सरकार, स्थानीय तहको चुनाव, संगठन विस्तार लगायतका विषयमा बुधबार बस्ने कार्यकारिणी समितिको बैठकले निर्णय गर्ने बताउँदै उनले प्रधानमन्त्री देउवासँग विभिन्न चरणमा भएको छलफलको बारेमा पनि बैठकमा ‘ब्रिफ’ हुने बताए ।