जनकपुर, चैत्र १६
मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेश प्रहरीलाई संघीय सरकारले हस्तान्तरण नगरे संघीय प्रहरीलाई धपाएर प्रहरी भर्ना गर्ने चेतावनी दिएका छन् ।
बुधबार जनकपुरमा प्रदेश सरकार तथा जनप्रतिनिधिसंग सूचनाको हक सम्बन्धी कार्यशालामा बोल्दै सञ्चारमन्त्री साहले संघीय सरकारको बदनियतका कारण प्रदेश प्रहरी हस्तान्तरण गर्न नचाहेको आरोप लगाएका हुन् ।
उनले संघीय सरकारले प्रहरी हस्तान्तरण नगरेमा प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट प्रदेश प्रहरी भर्ना गर्नका लागि अनुमोदन गर्ने बताए । उनले भने, ‘संघीय सरकारले प्रदेश प्रहरी हस्तान्तरण तथा भर्नाका लागि बेवास्ता गर्दै आनाकानी गरिरहेको छ, हामीले यसलाई गम्भिररुपमा लिएका छौँ, कर्मचारीहरु पनि संघ सरकारबाट खटनपटन हुने भएकाले कर्मचारीले पनि प्रदेश प्रहरी भर्ना सम्बन्धी विज्ञापन गर्न आनाकानी गरिरहेको छ, तर अब हामी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट ठाडो प्रस्ताव लैजाने र प्रदेश प्रहरी भर्नाका लागि विज्ञापन छिट्टै नै निकाल्ने छौँ ।’
उनले प्रदेश सरकारले स्थापना गरेको विभिन्न प्रहरी चौकीमा प्रदेश प्रहरी भर्ना गर्ने बताए । उनले नगरपालिकाले नगर प्रहरी राख्न पाउने, संघीय सरकारले प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको शान्तिसुरक्षाको सवालमा टुलुटुलु हेरेर नबस्ने बताउँदै सञ्चारमन्त्री साहले संघीय सरकारको बदनियतका कारण प्रदेश प्रहरी भर्ना ओझेलमा परिरहेकाले जनतालाई शान्ति सुरक्षा प्रत्याभुतिका लागि प्रदेश प्रहरी भर्ना गरिने स्पष्ट पारे ।
‘संघीय सरकार र संघीय प्रहरीका उच्चअधिकारीलाई प्रदेशमा प्रहरी गयो भने हाम्रो भाग खोसिने र हामीले जथाभावी चलाउन नपाउँदा सेरेमोनियल हुने भएकाले पनि प्रदेशलाई प्रहरी हस्तान्तरण गर्न तथा अधिकार प्रत्यायोजन गर्न आनाकानी गरिरहेको छ,’ सञ्चारमन्त्री साहले भने ।
प्रहरीका उच्च अधिकारीको अधिकार खोसिँदा सेरेमोनियल हुने डर रहेकाले प्रदेशलाई प्रहरी हस्तान्तरण तथा अधिकार प्रत्यायोजन गर्न नचाहेको उनको भनाई छ ।
उनले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचनाको हकलाई आत्मसात गरेको बताए । उनले सूचनाको हक सबैको साझा सरोकार र आवश्यकता रहेकोले सूचनाबाट कसैलाई पनि वञ्चित गर्न नहुने बताए ।
सो कार्यक्रममा प्रदेश सांसद मञ्जु यादव, प्रदेश सांसद रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता झा मिश्र, जनकपुरधाम उपमहानगर वडा नम्बर ४ का वडाअध्यक्ष सुदर्शन सिंह, जउमनपा वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का वडाअध्यक्ष परमेश्वर साहलगायतकाहरुले सूचनाको हकमाथि बोलेका थिए । भने पत्रकार शैलेन्द्र महतो क्रान्तिले सूचनाको अधिकार प्रयोग गरि सूचना माग्दा सम्बन्धित कार्यालयले दुव्र्यवहार गर्ने गरेको अनुभव सुनाएका थिए ।