काठमाण्डौ, चैत्र १६

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको छ । उनको ठाउँमा प्रवीण पोखरेललाई जिम्मा दिइएको छ ।

चार महिनाअघि सर्लाही गएका प्रहरी उपरीक्षक प्रसाई आर्थिक कारणले विवादमा मुछिएका थिए ।

‘विवादित छवि’ र कार्यसम्पादन कमजोर भएको हुनाले प्रसाईलाई सर्लाहीको इन्चार्जबाट फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सर्लाहीमा प्रहरी उपरीक्षक प्रवीण पोखरेललाई पठाएका छन् ।

प्रहरी उपरीक्षक पोखरेल प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए ।

वि.सं. २०७८ मंसिर ५ देखि सर्लाहीको कमाण्ड समालेका प्रसाईलाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।