काठमाण्डौ, चैत्र १६

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

सरकारमा लोसपा नेपालको सहभागिताको विषयमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेका हुन् ।

यही विषयमा केन्द्रीत पार्टीको कार्यकारिणी समितिको बैठक पश्चात ठाकुरले बुधबार साँझ साँझ प्रधानमन्त्री देउवासँग वार्ता गर्न लागेको स्रोतले जनाएको छ ।

स्थानीय तहको निर्वाचन अघि नै लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्री देउवाको तयारी रहेको छ । सोही विषयमा उनले लोसपाका अध्यक्ष ठाकुरसँग नियमित छलफलमा गरिरहेका छन् । छलफलमा लोसपाका अध्यक्ष ठाकुरले सरकारमा जानका लागि वातावरण बनाउन कुनै न कुनै रुपमा मधेशको मुद्दा सम्बोधन गर्न सर्त अघि सारेका छन् ।

आन्दोलनका क्रममा मुद्दा लागेकाहरूको मुद्दा फिर्ता तथा थुनामा रहेकाहरुको रिहा एवं संविधान संशोधनका लागि कार्यदल गठन गर्न अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई आग्रह गरेको जनाइएको छ । आफूहरुले उठाउँदै आएको माग पुरा गर्ने प्रकृया सुरु गरेमा आफूहरुलाई सरकारमा सहभागी हुन सजिलो हुने अध्यक्ष ठाकुरले भनेको जनाइएकोे छ ।

सरकारमा सहभागी हुने भएपछि लोसपाले प्रधानमन्त्री देउवासंग चारवटा मन्त्रालय माग गरेको छ । तर प्रधानमन्त्री देउवाले दुईटा मन्त्रालय दिने तयारी गरेका छन् । प्रधानमन्त्री देउवासँग दुईटा मन्त्रालय खाली रहेको छ । तर लोसपालाई सरकारमा ल्याइरहेको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव भने सन्तुष्ट छैनन् ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपाका मन्त्रीहरुलाई शपथ खुवाउन सक्नेसम्मको तयारी भइरहेको जनाइएको छ । यस विषयमा आजको भेटघाटमा केही टुंगो लाग्ने जसपाका एक नेताले बताए ।

लोसपाको बुधबारको बैठकमा पार्टीको विधानको बारेमा छलफल भएको जनाइएको छ । पार्टीका विधान अध्ययनका लागि कार्यकारिणी समितिका सदस्यहरुलाई वितरण समेत गरिएको छ ।