
जनकपुर, चैत्र १६
जनकपुरधाम स्थित एक घरमा एलपी ग्यास पड्किँदा एक बालक घाइते भएका छन् भने मोटरसाइकलसहित सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको छ ।
बुधबार साँझ स्थानीय अवधकिशोर यादवको घरमा अचानक आलगागी हुँदा एक बालक घाइते भएको हो ।
बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
आगलागीको बेला घरमा खाना पकाउने ग्यास सिलिण्डर समेत विस्फोट भएको उनको भनाई छ ।
एउटा सरकारी नम्बरप्लेटको मोटरसाइकल जलेको छ भने घरमा भएको सरसमान जलेर नष्ट भएको उनले बताए ।
जलेको सरकारी मोटरसाइकल सोही घरमा भाडा लिएर बसेका मुजेलिया स्थित सडक डिभिजनको एकजना सबइन्जिनियरको रहेको उनले बताए ।
आगलागी नियन्त्रणमा आइसकेको धनुषा प्रहरीले जनाएको छ । आगलागी के कसरी भयो भन्ने अनुसन्धान भईरहेको धनुषा प्रहरीले बताए ।