
काठमाण्डौँ, चैत्र १७
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक जारी छ ।
काठमाण्डौको बबरमहलस्थित लोसपा नेपालको कार्यालयमा जारी रहेको बैठकमा सरकारमा सहभागिता, स्थानीय तहको चुनाव, संगठन निर्माण, केन्द्रीय समिति निर्माण लगायतका एजेण्डामा छलफल जारी छ ।
यसअघि बुधबारको बैठकमा ८ जनाले आफ्नो धारणा राखेका थिए । उनीहरुले केन्द्रीय समितिलगायत बाँकी रहेका संगठन तत्काल गठन गरी पार्टीलाई चुनावमा होमिनुपर्ने सुझाव दिएका थिए । अरु पार्टीहरू एजेण्डासहित चुनावमा होमि सके, लोसपा अझै अलमलमा रहेको हुनाले यो बैठकबाट संगठनको काम सकाएर जिम्मेवारीसहित पार्टीलाई चुनावमा होमिनुपर्ने सुझावहरु आएको कार्यकारिणी सदस्य अकवाल अहमदले बताए ।
सरकारमा जाने विषय बाहिर आएकाले वास्तविकता नेतृत्व पंक्तिले बताउनुपर्ने धारणा नेताहरुले राखेका थिए । पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा अहिले सञ्चारमाध्यममा मात्र चर्चा भएको सो क्रममा बताएका थिए ।
मधेशको मुद्दा र एजेण्डाको विषय स्पष्ट नगरेसम्म सरकारमा सहभागी हुने कुरा नहुने कुरा उनले बैठकमा राखेको जनाइएको छ ।