जनकपुर, चैत्र १७

धनुषामा एक वर्षमा २ सय १९ वटा लैंगिक हिंसाको घटना भएको छ ।

बिहिवार पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा ओरेक नेपाल धनुषाले सार्वजनिक गरेको एक तथ्यांक अनुसार २०२१ मा धनुषामा २ सय १९ वटा लैंगिक हिंसाको घटना दर्ता भएको जनाएको छ ।

ओरेक नेपाल धनुषाकी प्रमुख रोजलिन बछारले एक वर्षको अवधिमा ८७ वटा घरेलु हिंसा, १४ वटा बलातकार, ३ वटा सामूहिक बलात्कार, ३ वटा बलात्कारको प्रयास, ११ वटा यौन दुव्र्यवहारको घटना भएको जनाइन् ।

गत वर्ष प्रेममा ३३ जनासँग विश्वासघात भएको प्रमुख रोजलिन बछारले बताइन् ।

प्रमुख बछारले २०२१ मा मानव बेचबिखनको ९ वटा, घरेलु हिंसामा २ जना पुरुष पीडित भएको घटना दर्ता भएको बताइन् । त्यस्तै अन्य प्रकृतिका २ वटा घटना घटेको छ ।

ओरेक नेपाल धनुषाले गत वर्ष ७४ जनालाई कानूनी परामर्श, कानूनी सहयोग ६१ जनालाई, स्वास्थ्य उपचार सेवा ५२ जनालाई, प्रसुती स्याहार ६ जनालाई, कपडा सहयोग ७२ जनालाई लगायतका विभिन्न कार्यक्रमहरु गरेको उनले बताइन् ।

सो कार्यक्रममा अधिवक्ता राजकुमार महासेठले अदालती भाषा सम्बन्धी छलफल गरेका थिए । भने नेपाल पत्रकार महासंघ मधेश प्रदेशकी उपाध्यक्ष ज्योति झाले लैंगिक हिंसाको घटना न्यूनिकरण तर्फ ध्यान दिनुपर्ने आवश्यक रहेको बताइन् ।