सप्तरी, चैत्र १७
जनता समाजवादी पार्टी नेपालका १२५ जना बढी कार्यकर्ताहरू जीबछ यादवको नेतृत्वमा तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)मा प्रवेश गरेका छन् ।
बिहीबार तमलोपा सप्तरीका अध्यक्ष प्रमोद यादवको सभापतित्वमा राजबिराजको दास धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रममा तमलोपाका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा. विजय कुमार सिंहले नवप्रवेशीहरुलाई पार्टी सदस्यता प्रदान गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरु रामप्रीत यादव, ब्रजकिशोर सिंह, असगर अली, हेमनाथ साह, मदन सिंह समेतको उपस्थिति थियो ।
सो कार्यक्रममा अध्यक्ष वृषेशचन्द्र लालले तमलोपा मधेशका आन्दोलनकारीहरूकै नेतृत्वको मधेशको संस्थागत लोकतान्त्रिक पार्टी निर्माणको अभियान रहेको बताए ।
उनले भने, ‘हाम्रो यो अभियान निश्चय नै सफल हुनेछ ।’ अध्यक्ष लालले अघि थप्दैँ भने, ‘मन्त्री र उपप्रधानमन्त्री पदका लागी अहिलेसम्म मधेश विद्रोहको सम्पूर्ण ताकत र मत बिक्री गरिंदै आइएको छ । अब आगाडि हामी यस्तो कदापि हुन दिन्नौं ।’
वरिष्ठ नेता डा. विजयकुमार सिंहले तमलोपा मधेशीहरूको प्रतिनिधि पार्टी रहेको बताए । उनले हामीमा कुनै पद वा तत्कालको लाभको निमित्त यस चुनौतीलाई नस्वीकारेको बताउँदै उनले हाम्रो लक्ष्य मधेशको सशक्त पार्टी निर्माण रहेको स्पष्ट पारे ।
क्षेत्रीय राजनीतिक शक्तिको विकास नभए संघीयतामा स्वशासन अर्थपूर्ण हुन सक्दैन भन्दै मधेशको नाममा राजनीति गर्ने दलहरू मधेश शब्दबाटै डराउनु दुर्भाग्यपूर्ण रहेको बताए ।