जनकपुर, चैत्र १८
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय तहको निर्वाचनमा बढी सिट जित्ने दावी गरेका छन् ।
शुक्रबार जनकपुरधाम स्थित विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष लिङदेनले चार वटा स्थानीय तहलाई नमूना पालिकाको रुपमा विकास गरेकाले अब हुन लागेको स्थानीय तहको निर्वाचनमा बढी भन्दा बढी सिट जित्ने दावी गरे ।
उनले भने, ‘राप्रपाले जितेको स्थानीय तहलाई नमूनाको रुपमा विकाससंगै जनतालाई प्रत्यक्षरुपमा सेवा सुविधा दिइएको र शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकास, र सुशासन हाम्रो एजेण्डा हो ।’
उनले अघि थप्दैँ भने, ‘भ्रष्टाचाररहित स्थानीय तह र देश निर्माण गर्नु हाम्रो अभियान हो ।’
उनले स्थानीय निर्वाचनको लागि ढिला गरि तयारी थालेको भन्दै अध्यक्ष लिङदेनले भने, ‘जे सक्छौ, त्यो गर्छौ, अधिकांश स्थानमा उम्मेदवारी दिइने, र पहिला भन्दा बढी ठाउँमा राम्रो स्थानमा जित्छौँ ।’
उनले यसपालि हरेक स्थानीय तहमा बढी भन्दा बढी उम्मेदवारी उठाउने तयारी रहेको बताए । उनले जसरी हामीले स्थानीय तहलाई नमूना बनाउने अभियान चलाउँदैछौँ, त्यसरी नै मुलुक राप्रपाले पायो भने कस्तो बनाउलान् भन्ने परिकल्पना गर्न उनले जनतालाई आग्रह समेत गरे ।
उनले राप्रपा स्थानीय तहको निर्वाचनमा एक्लै जाने भन्दै उनले जिल्ला कमिटी र स्थानीय तहको समितिलाई आवश्यकताको आधारमा चुनावी तालमेल गरेर जानसकिने बताए ।
उनले राप्रपाले स्थानीय तहको निर्वाचनमा जितेमा निःशुल्क शिक्षा, स्वास्थ्यलाई ध्यान दिँदै विमा, कृषि क्षेत्रमा लागेका किसानलाई प्रत्यक्षरुपमै मल खाद्य, विउविजन वितरण गरिने, नमूना स्थानीय तह निर्माण गरिने, ज्येष्ठ नागरिकलाई घर दैलोमै गएर मासिकरुपमा स्वास्थ्य परिक्षण र विभिन्न सेवासुविधा दिइने घोषणा गरे ।
राप्रपाले स्थानीय तहको निर्वाचनमा ७५३ स्थानीय तह मध्ये ४० प्रतिशत स्थानमा मात्रै उम्मेदवारी खडा गर्न सकेको स्मरण गर्दै अध्यक्ष लिङदेनले भने, ‘यसपालिको स्थानीय तहको निर्वाचनमा गत निर्वाचन भन्दा यसपटकको निर्वाचनमा राम्रो नतिजा आउनेमा हामी ढुक्क छौँ ।’