सप्तरी, चैत्र १८
नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिएपछि एक चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
सप्तरीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका वडा नम्बर ५ स्थित रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।
टिपरको ठक्करले बोलेरो चालक बोदे बर्साइन नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय शिवराज यादवको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । उनले घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको बताए ।
दुर्घटनामा बोलेरो गाडीमा सवार बोदेबर्साइन नगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय शैलेश यादव, सोही उमेरका महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय वृजेश कुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका–८ बस्ने ३५ वर्षीय अरुण कुमार सिंह घाइते भएका छन् ।
उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उनले बताए ।