जनकपुर, चैत्र १८
मधेश प्रदेशमा ३२ वटा दलहरुले स्थानीय तहको निर्वाचनमा भाग लिने तयारी गरिरहेको छ । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहित ३२ दलले दल दर्ता गराएको मधेश प्रदेशको निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन आउन अब ४२ दिन मात्रै बाँकी छ । स्थानीय निर्वाचनलाई ध्यानमा राखेर धनुषामा पनि उम्मेदवारका आकांक्षीहरू पार्टी नेतृत्व समक्ष दौडधूप शुरु गरि सकेका छन् । यद्यपि प्रमुख दलहरुमा पालिका प्रमुखका लागि अकांक्षीहरुको संख्या बढी देखिएपछि उम्मेदवार छनौट गर्न सकस परिरहेको छ ।
धनुषामा कूल १८ वटा पालिकाहरु छन् । तर सबैको ध्यान मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा केन्द्रित छ । स्थानीय तहको निर्वाचनलाई लिएर दलहरु प्रचारमा लागेको समयमा जनकपुरधाम उपमहानरको नेतृत्वका लागि दर्जनौँ उम्मेदवारीहरुले अकांक्षा देखाएका छन् । यद्यपि अहिलेसम्म कुनै पनि राजनीतिक दलले आधिकारिक निर्णय गर्न सकेको छैन ।
जनकपुरधामको नगरप्रमुखमा जसपाबाट ३ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा जनकपुरधामका वर्तमान नगरप्रमुख लालकिशोर साह पुनः दोस्रो कार्यकालका लागि तयारी गरिरहेका छन् । उनले नगरप्रमुखको उम्मेदवारमा पुनः आफ्नो दाबी रहने बताए । ‘नगरप्रमुखमा पुनः दोस्रो कार्यकालका लागि मेरो दावेदारी रहन्छ,’ उनले भने । जसपा नेता विष्णुदेव साह र बजरंगप्रसाद यादवले पनि नगरप्रमुखमा दावेदारी प्रस्तुत गरेका छन् । विष्णुदेव पछिल्लो निर्वाचनमा तत्कालिन समाजवादी पार्टीबाट नगरप्रमुखमा चुनाव लडेका थिए । बजरंगले नगरप्रमुखको टिकट आफूले पाए चुनाव जित्ने बताउँछन् ।
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि लोकतान्त्रिक समाजवादी पार्टीबाट सबैभन्दा ४ जनाले आकांक्षा देखिएका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबाट ३÷३ जनाले तथा नेकपा एकीकृत समाजवादी पार्टीबाट १ जनाले नगरप्रमुखका लागि अकांक्षा देखाएका हुन् । नेकपा माओवादी केन्द्र र जनमत पार्टीबाट अहिलेसम्म नगरप्रमुखका लागि कुनै पनि अकांक्षीहरुको नाम अहिलेसम्म बाहिरिएको छैन ।
जनकपुरधामको उपप्रमुखमा रीताकुमारी मिश्रसहित १२ जना निर्वाचित वडाध्यक्षहरू हाल लोसपामै छन् । लोसपाबाट यसपटकको निर्वाचनमा ४ जना आकांक्षीले टिकटका लागि लबिङ गरिरहेका छन् । उपप्रमुख मिश्र अब नगरप्रमुखका लागि दावेदारी प्रस्तुत गर्न चाहन्छिन् । तर लोसपा श्रोतका अनुसार फेरी उनलाई उपप्रमुखमै दोहर्याउने सम्भावना छ । उनका अतिरिक्त मधेस प्रदेशको प्रदेशसभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगर वडा ७ का वडाध्यक्ष जानकीराम साह, लोसपाका नगर अध्यक्ष मनोज चौधरी समेत जनकपुरधामको नगरप्रमुखका लागि तयारी गरिरहेका हुन् ।
जनकपुरधामको स्थानीय तह निर्वाचनमा शक्तिशालीको दलको रुपमा नेपाली कांग्रेसलाई लिइन्छ । कांग्रेसबाट गत स्थानीय निर्वाचनमा नगरप्रमुखका पराजित भएका नेपाली कांग्रेस जनकपुरधामका नगरसभापति, पूर्वमेयर बजरंगप्रसाद साह र जनकपुरधाम नगरसभापति राकेशविक्रम साहको नाम चर्चामा रहेको छ ।
कांग्रेस जनकपुरधामको नगरउपसभापति राकेशबिक्रमले आफ्नो दाबीलाई जायज ठहर्याउँछन् । यसअघि स्वतन्त्र रुपमा उपप्रमुखमा निर्वाचन लडेको अनुभव रहेकाले यस पटक नेपाली कांग्रेसको बैनरबाट नगरप्रमुखमा भिड्ने तयारी गरिरहेको छु ।
जनकपुरधामको कांग्रेस नगरसभापति मनोज साह आफू पछिल्लो निर्वाचनको निकटतम प्रतिद्वन्द्वी रहेकाले यस पटक फेरी नगरप्रमुखका लागि उम्मेदवारी दिने तयारी गरिरहेको छु । यद्यपि पार्टीले गर्ने निर्णय आफ्ना लागि सर्वोपरी हुने उनको भनाई थियो । पार्टीले फेरि आफूलाई नै टिकेट दिने दावी समेत उनको छ ।
जबकि पार्टी श्रोतका अनुसार नेपाली कांग्रेसबाट बाहिर आईरहेको नाम बाहेक कुनै नयाँ चेहरालाई उम्मेदवारको रुपमा ल्याउन सक्ने सम्भावना समेत रहेको छ ।
पछिल्लो स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने जनकपुरधाममा नेकपा एमालेको आधार कमजोर छ । तर पनि एमालेबाट नगरप्रमुखका लागि २ जना अकांक्षी देखिएका छन् । एमालेबाट शिवशंकर साह हीरा र उमेश चौधरीले नगरप्रमुखको टिकेट पाउनका लागि लबिङ्ग गरिरहेका छन् ।
एमाले नेतृत्वले आफूलाई अवसर दिए आफू उम्मेदवार बन्न तयार रहेको हिरा बताउँछन् । नेतृत्वले युवालाई अवसर दिनुपर्ने पक्षमा आफू रहेकोले पार्टीले आफूलाई अवसर दिने त्यसमा विश्वस्त रहेको समेत बताए ।
उमेश चौधरीले समेत आफ्नो नगरप्रमुखका लागि स्वभाविक रहेको दावी गगर्छन् । पछिल्लो निर्वाचनमा पनि आफ्नो नाम सिफारिस भएको बताउँदै उनले आउँदो निर्वाचनमा पार्टीले टिकट दिए निर्वाचन जितेर देखाउने बताए ।
यता, नेकपा एकीकृत समाजवादी पार्टीबाट जनकपुरधामको नगरप्रमुख पदका लागि डा. अजय झाको नामसमेत चर्चामा रहेको छ ।
धनुषामा ५९६ मतदान केन्द्र, ३२३ मतदानस्थल
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषा जिल्लामा ३२७ मतदानस्थल र ५४८ मतदान केन्द्र थिए । यसपटक मतदानस्थल घटेर ३२३ पुगेको छ भने मतदान केन्द्र बढेर ५९६ पुगेको छ ।
जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै पालिकाहरूमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भइसकेका छन् । निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम धनुषा जिल्लाका लागि जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेललाई २९ चैतदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
त्यस्तै, निर्वाचन आयोगले औरही गाउँपालिकामा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव रजेश शशी, कमला नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला, क्षीरेश्वरनाथ नगरपालिकामा धनुषा जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेत, गणेशमान चारनाथ नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत रूपेश कुमार साह, जनकनन्दनी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ठूलोबाबु दाहाललाई निर्वाचन अधिकृत तोकेको छ ।
त्यस्तै, धनुषाधाम नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत चीरञ्जीवी गौतम, धनौजी गाउँपालिकामा उच्च सरकारी वकील कार्यालय जनकपुरका उपन्यायाधिवक्ता पोषराज खनाल, नगराइन नगरपालिकामा मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता सुदीपकुमार दंगाल, बटेश्वर गाउँपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोडारी, मिथिला नगरपालिकामा न्याय परिषद्का उपसचिव दीपक धिताल, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत शिवहरी पौड्याललाई निर्वाचन अधिकृत बनाइएको छ ।
उता, लक्ष्मीनिया गाउँपालिकामा शिक्षा विकास निर्देशनालयका उपसचिव चुडामणि फुँयाल, मिथिला बिहारी नगरपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार राजु पराजुली, विदेह नगरपालिकामा गृह मन्त्रालयका उपसचिव अनुज भण्डारी, शहीदनगर नगरपालिकामा परराष्ट्र मन्त्रालयका विशाल भट्टराई, सबैला नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत बासुदेव पाण्डे र हंसपुर नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत कर्णबहादुर राईलाई निर्वाचन अधिकृत तोकेको छ ।
आगामी ३० वैशाख हुने स्थानीय तहको निर्वाचनमा धनुषामा मात्रै ४ लाख ६७ हजार ३२८ जना मतदाता रहेका छन् । जसमध्ये महिला २१ लाख ८ हजार ५४२, पुरुष २४ लाख ८ हजार ८४० र अन्य समूहका ६ जना छन् ।
निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन अभिमुखीकरण कार्यक्रम १ वैशाखमा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, धनुषा र रौतहटका लागि जनकपुरधाममा र बारा र पर्साका लागि २ वैशाखमा हेटौँडामा गर्ने जनाएको छ ।