जनकपुर, चैत्र १८

धनुषामा पोखरीको विषयमा भएको कुटपीटको मुद्दामाथि प्रहरीले वास्ता नगरेको आरोप विन्देश्वर सिंहले लगाएका छन् ।

पोखरीको विषयलाई लिएर दुई पक्ष वीच कुटाकुट हुँदा एक जना घाइते भएको थियो । सो घटनाबारे जाहेरी प्रहरीले दर्ता नगरेको आरोप सिंहको छ ।

उनले ज्यान मार्ने प्रयासको मुद्दा दर्ता गराउन जाँदा जिल्ला प्रहरी कार्यालय धनुषाले दर्ता गर्न नमानेको बताए ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर ९ स्थित ईटहर्वाका सिंहले ज्यानै मार्ने गरी कुटपिट गरिएको मुद्दा धनुषा प्रहरीले दर्ता नगरी विपक्षीसँग मिलेको आरोप समेत लगाए ।

पीडित भनिएका विन्देश्वर सिंहले स्थानीय केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत जग्गा कब्जा गर्ने प्रयास गरेको र सो कार्य रोक्न खोज्दा आफूमाथि संघातिक आक्रमण गरेको बताए । उनले आफुमाथि कुटपीट गर्नेहरुलाई विदेह नगरपालिकाका मेयर बेचन दासले संरक्षण गरेको आरोप लगाए ।

सो कुटपीटको क्रममा एक पक्षका विन्देश्वर सिंह घाइते भएका थिए । घाइतेपछि दुवै पक्षबीच सहमति भएपनि चित्त नबुझेपछि सिंह पक्षकाले ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता गर्न धनुषा प्रहरीलाई दबाव दिँदै आएको धनुषा प्रहरीले जानकारी दिए ।

धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले भने, ‘घटनाको प्रकृति र अस्पतालको रिपोर्ट अनुसार घाउखत देखिएकोले घाउखतको मुद्दा दर्ता हुनुपर्ने हो, तर तिनीहरुले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गर्न भन्दै आएको र सो मुद्दा दर्ता गर्न कानून बमोजिम मिल्दैन ।’ उनले घाउखत सम्बन्धी निवेदन लिएर आएमा जिप्रका धनुषाले कानून बमोजिम जाहेरी दर्ता गर्न तयार रहेको स्पष्ट पारे ।

उनले सो घटनाको अनुसन्धानको क्रममा यो विवाद संघीयता कार्यान्वयन देखि नै भएको र सो पालिका गठन भएदेखि हुँदै आइरहेको देखिएको बताउँदै उनले भने, ‘साविकदेखि सार्वजनिक जग्गामा रहेका ती पोखरी र त्यसको डिल सिंह परिवारले आफ्नो पुर्वजको रहेको भनी उपभोग गर्दै आएको थियो । तर स्थानीय तह गठन भएपछि नगरपालिकाले सो पोखरीलाई सार्वजनिक कायम गरी आफ्नो मातहतमा लिएर ठेक्कापट्टा लगाउन थाल्यो ।’

स्थानीयका अनुसार ती पोखरी साबिकदेखि सार्वजनिक हो ।

केही दशक अघि सिंह परिवारले सो पोखरी आफ्नो पुर्वजको रहेको भन्दै त्यसको डिलमा भईरहेको संरचना निर्माण गरी उपभोग गर्न थालेका हुन् । तर सिंह परिवारले २०२५÷०२६ सालको सर्भे नापी अनुसार सिंहले दावी गर्दै आएको छ ।

सिंहले स्थानीय शत्रुध्न यादव, मिथिलेश यादव, उपेन्द्र यादव, उत्तिमलाल यादव र दिनेश यादव सहित नचिनेका ५ जना माथि ज्यान मार्ने उद्योग जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता गर्ने बताएको छ ।

यता सो घटनामा विन्देश्वर सिंहलाई कुटपीट गरेको भन्दै राप्रपा धुनषाले विरोध गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी धनुषाका नेता मुन्नु झाले घटनामा संलग्न रहेकामाथिको तत्काल मुद्दा दर्ता गर्न धनुषा प्रहरीसंग आग्रह गरे ।

उनले कुटपीट गर्नेहरुमाथि कडा कारवाही गर्न माग गरेका छन् ।