काठमाण्डौ, चैत्र १८

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय तहको चुनावमा नेताहरुको क्षमता परीक्षण गर्ने भएको छ ।

बिहीबार काठमाण्डौमा लोसपा कार्यकारीणी समितिको दुई दिनसम्म चलेको बैठकबाट चुनावी गठबन्धन गर्ने अधिकार पार्टीको स्थानीय समितिलाई दिने निर्णय समेत गरेको छ । सो बैठकले स्थानीय तहको चुनावमा स्थानीय स्तरमा जो जोसँग कुरा मिल्छ उसैसँग चुनावी गठबन्धन गर्न पार्टीका स्थानीय समितिलाई अधिकार दिएको कार्यकारिणी समितिका सदस्य उमाशंकर अरगरियाले बताए ।

उनले भने, ‘केन्द्रमा हालसम्म कुनै दलसँग गठबन्धन नबनेको हुनाले स्थानीय स्तरमा जुन दलसँग अनुकुल मिल्छ, त्यो दलसँग तालमेल गर्न अधिकार बैठकले दिएको छ’ उनले अघि थप्दैँ भने, ‘केन्द्रमा गठबन्धनका लागि कुराकानी चलिरहेको छ, तर अहिलेसम्म टुगों लागेको छैन, केन्द्रका लागि पर्खिनुभन्दा स्थानीय तहमै चुनावी तालमेलका लागि जिम्मेवारी दिँदा उपयुक्त हुने भनेर त्यसरी स्थानीय समितिलाई अधिकार दिइएको हो ।’

गठबन्धनलगायत सरकारमा सहभागिताका विषयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग कुराकानी भएको बताउँदै उनले मधेशको मुद्दा सम्बोधन नगरेसम्म लोसपा सरकारमा नजाने उनले बताए ।
मधेशको माग पुरा गराउन प्रधानमन्त्री देउवा सकारात्मक रहेको समेत उनले बताए ।
केन्द्रीय समिति बनाउनका लागि पार्टीमा गृहकार्य भइएको बताउँदै उनले स्थानीय चुनावअघि नै केन्द्रीय समिति गठन गर्ने छलफल भएको बताए ।