जनकपुर, चैत्र २०

जयनगर– जयनगर– कुर्था रेल्वे खण्डमा आज देखि यात्रुसहितको नियमित रेल सेवा सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय नरेन्द्र मोदीले शनिबार संयुक्तरूपमा भर्चुअल माध्यमबाट रेल सेवाको शुभारम्भ गरेकपछि आइतबार देखि रेलले नियमित सेवा दिन थालेको छ ।

आज बिहान साढे ८ बजेदेखि यात्रुसहितको रेल सेवा सञ्चालनमा आउने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार दैनिक दुईपटक जयनगर–कुर्था रेल चल्ने छ । विहान साढे ८ बजे जयनगरबाट छुटेको रेल बिहान १० बजेतिर कुर्था स्टेशन आइपुग्ने छ । जनकपुरधामको कुर्थाबाट पौने ११ बजे जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने समयतालिका निर्धारण गरिएको उनले बताए ।

जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको उनले स्पष्ट पारे ।

जयनगर–जनकपुर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुले आफ्नो पहिचान खुल्ने कागजात अनिवार्यरुपमा बोक्नुपर्ने छ । खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै पहिचान खुल्ने कागजात अनिवार्य गरिएको उनले बताए ।

खुला सिमानाका र सुरक्षालाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात लिएर यात्रीहरुले जयनगर जान पाउनेछ । त्यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था रहेको सूचना बोर्डमा जनाइएको छ ।

१० वर्ष देखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा स्कुलको फोटोसहितको परिचयपत्र अनिवार्यरूपमा साथमा राख्नुपर्ने छ । त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी वैद्य राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने व्यवस्था गरिएको महाप्रबन्धक झाले बताए ।

जयनगरबाट कुर्थासम्म चल्ने रेल सेवाको नयाँ भाडादर समेत कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु रु ९० र एसी सिटमा रु ३५० भाडा निर्धारण गरिएको छ ।

रेल्वे टिकट लिएर नचढेको खण्डमा जरिवानाको समेत व्यवस्था गरिएको छ ।