जनकपुर, चैत्र २०

केन्द्रीय तहमा सत्तारुढ गठबन्धनको कुराकानी भइरहँदा मधेश प्रदेशमा पनि पाँच दलीय गठबन्धनको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

आइतबार जनकपुरधाम स्थित नेपाली काँग्रेस मधेश प्रदेशको कार्यालयमा भएको गठबन्धनको बैठकबाट यस प्रदेशमा स्थानीय तहमा पनि चुनावी गठबन्धन र तालमेलबारे छलफल भएको नेकपा माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

सो बैठकमा सहभागी भएका दलहरुले जिल्लास्तरीय संयन्त्र बनाउने, पालिकाको अवस्था बारे जिल्ला कमिटीले प्रदेश स्तरीय पार्टी आ–आफ्नो पार्टीमा जानकारी लिने, सोको पालिकामा पार्टीको अवस्था बारे मूल्यांकनसहित सुझाव यही चैत २४ गतेसम्म लिइसक्ने र चैत २५ गते पुनः पाँच दलको बैठक बस्ने निर्णय भएको अध्यक्ष बुढाथोकीले बताए ।

अध्यक्ष बुढाथोकीले भने, ‘पाँच दलीय गठबन्धनको संयूक्त बैठकबाट जिल्ला स्तरीय संयन्त्र बनाउने, पालिकाको अवस्थाबारे बुझ्ने, चैत २४ गतेसम्म आ–आफ्नो पार्टी संगठनको अवस्थाबारे रिर्पोटिंग लिई चैत २५ गते पुनः बैठक बस्ने छौँ ।’

सो बैठकमा नेकपा माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष बुढाथोकी, सचिव योगकुमार बरबरिया जीवन, नेपाली काँग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादव, नेकपा एकीकृत समाजवादी मधेश प्रदेशका अध्यक्ष रामचन्द्र यादव, जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका अध्यक्ष रामबाबु यादव र राष्ट्रिय जनमोर्चाका केन्द्रिय सचिव भिमलाल पुरीलगायतको सहभागीता थियो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशमा रहेको पाँच दलीय गठबन्धनको बैठक पहिलो पटक संयूक्तरुपमा बसेको थियो ।