
प्रतिगमनविरुद्धको खबरदारी जारी छः प्रचण्ड
जनकपुर, चैत्र २०
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनुषा र महोत्तरीको विभिन्न कार्यक्रममा सरिक भई काठमाण्डौँ फर्किएका छन् ।
आइतबार विहान जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित बरमझिया गाउँमा सहिद रामवृक्ष यादवका सहपाठी सन्तोषी यादवको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । अध्यक्ष प्रचण्डले सन्तोषी यादवको पार्थिव शरीरलाई पार्टीको झण्डा ओढाएर सम्मान समेत गरेका थिए । तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र संघर्ष सुरु नगर्दै २ भदौ २०५१ उनको हत्या भएको थियो ।
महोत्तरीमा अध्यक्ष प्रचण्डद्वारा ‘चार’ उद्घाटन
पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको हत्या भएको थियो ।
त्यसपछि उनी महोत्तरीको बर्दिबास स्थित खयरमारामा रहेको निर्मल लामा बहुप्राविधिक शिक्षालयलगायत विभिन्न नवनिर्मित भवन तथा कार्यालयको उद्घाटन अध्यक्ष प्रचण्डले गरेका थिए ।
महोत्तरीकै गौशाला नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन, मालपोत कार्यालय र नापी कार्यालयको एकैदिन उद्घाटन अध्यक्ष प्रचण्डले गरेका हुन् ।
सो उद्घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन् । आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए ।
बर्दिबास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, “हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौँ, यसपालिको आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्नेछ ।” आसन्न स्थानीयतह निर्वाचनसम्म मात्र नभएर अब हुने संसदीय निर्वाचनसम्म प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धन कायम रहने उनको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले विगतमा आपूm नेतृत्वको जनयुद्धताकाको ऐतिहासिक ठाउँ खयरमारा प्राविधिक शिक्षाको केन्द्र बनेको चर्चा गर्नुभयो । रु पाँच करोड ५० लाख लागतको ४० कोठे र चार करोड ८३ लाख रुपैयाँ लागतको २१ कोेठे गरी दुई अत्याधुनिक भवन शिक्षालयका तयार भएका छन् । अध्यक्ष प्रचण्डले यिनै भवन आज एक समारोहबीच गरे ।
उनले भने, “अब यो शिक्षालय मुलुकभरि दक्ष प्राविधिकको परिपूर्ति गर्ने मुलुककै एउटा खास गन्तव्य बन्दैछ”, उनले अघि थप्दैँ भने, “यहाँको शैक्षिक उत्पादनले मुलुकको विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गर्न सकिन्छ ।”
नेपालको वामप्रजातान्त्रिक आन्दोलनका योद्धा स्व निर्मल लामाको नाउँमा ‘निर्मल लामा बहुप्राविधिक शिक्षालय’ स्थापना भएर सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ । शिक्षालयले शिभिल इञ्जिनियरिङ, जोमेट्रिक इन्जिनियरिङ (अमिन, सर्भे), वनविज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, फार्मेसी र रेडियोग्राफी (रेडियोलोजी) विषयको सैद्धान्तिक र व्यावहारिक सीप दिँदै आएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा शिक्षालयले मधेस प्रदेशका माविलाई विभिन्न विषयको पठनपाठनको स्वीकृति दिने गरेको छ । यसैअनुरुप सिरहाको धनगढीस्थित सामुदायिक विद्यालयले प्राकृतिक चिकित्सा र आयुर्वेदको पठनपाठन सुरु गरेको छ ।
बर्दिबास–११ को खयरमारास्थित चनौटेमा अध्यक्ष प्रचण्डले आज नै शहीद पार्क निर्माण कार्यको शिलान्यास समेत गरे । बर्दिबास नगरपालिकाले यो पार्क निर्माणको योजना अघि बढाएको हो ।
महोत्तरीमा भएको सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, शहरी विकास तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठ, पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गरिराजमणि पोखरेल, मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह, गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतो, उपप्रमुख आशा लामालगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, नगरपालिकाका कर्मचारीहरु र सयौंको संख्यामा जनसमुदायको सहभागिता रहेको थियो ।
त्यस्तै शहरी विकास तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले सही व्यक्तिलाई सही ठाउँमा सही जिम्मेवारी प्रदान गर्नुपर्ने धारणा व्यक्त राखिन् । उनले दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोवास गर्ने मानिसहरुलाई व्यवस्थित गर्नको लागि अगाडि बढेर कार्य गरिरहेको बताइन् । गत चार महिनाको अन्तारलमा २० हजारभन्दा बढी जनसमुदायलाई जग्गाको लालपुर्जा प्रदान गरिएको जानकारी गराउँदै उनले भनिन्, ‘कोही पनि नदोहोरियोस र कोही पनि नछुटोस’ भन्ने धारणाको साथ वास्तविक सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने कार्य तीव्ररुपमा भइरहेको दाबी गरिन् ।
सो कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले लामो समयको पर्खाइपछि गौशालामा आफ्नै प्रशासनिक भवन र मालपोत तथा नापी कार्यालयको स्थापनाले जनसमुदायमा प्रसन्नता छाएको बताए । नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना हुनु ठूलो उपलब्धि र यसले जनसमुदायलाई जलेश्वर जानुपर्ने बाध्यता निराकरण गरी बढी खर्च नहुने अवस्था सिर्जना भएको दाबी गरे । त्यस्तै गौशाला नगरपालिकाले आजसम्मको दिनमा विभिन्न अवरोधहरु पारगर्दै विकास निर्माणका कार्यहरु गर्न सफल भएको बताए ।