जनकपुर, चैत्र २१

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच स्थानीय तहको निर्वाचनमा तालमेलको सम्भावना चर्चामै सिमित हुन पुगेको छ । जसपा नेपालले सत्तारुढ गठबन्धनसँग तालमेल गर्ने निर्णय भने गरिसकेको छ । सत्तारुढ गठबन्धनभित्र पनि आपसी तालमेल गरी स्थानीय तहको निर्वाचनमा जाने समझदारी भएको छ ।

लोसपा नेपाल सत्तारुढ गठबन्धनभन्दा बाहिर छ । जसपा नेपाल र लोसपा नेपालबीच चुनावी तालमेलको सम्भावना करिब करिब अन्त्य भएको छ । जसपा नेपालबाटै फुटेर बनेको लोसपा नेपालले स्थानीय तहको निर्वाचनमा तालमेल बारे प्रस्ट निर्णय भने गरिसकेको छैन । सो पार्टीका नेताहरु आवश्यकताअनुसार तालमेलबारे स्थानीय कमिटीले नै निर्णय लिने बताउँछन् ।

सत्तारुढ गठबन्धन आपसमा तालमेलका साथ चुनावमा जाने भएसँगै नेकपा एमाले पनि चुनावी तालमेलका लागि पहल गर्न थालेका छन् । एमालेले राप्रपाका दुवै खेमासँग चुनावी तालमेलबारे छलफल गरिरहेको छन् ।

लोसपा नेपाल पनि एमालेको रोजाइमा पर्ने सम्भावना देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको तत्कालीन सरकारमा सहभागिताको विषयलाई लिएर नै जसपा नेपाल विभाजन भएर लोसपा नेपाल गठन भएको होे ।

पार्टी विभाजनका क्रममा स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिमध्ये ८० प्रतिशतभन्दा बढी प्रतिनिधि जसपामै रहेको दाबी जसपाका कार्यकारिणी समितिका सदस्य इस्तियाक राइले जनाएका छन् । स्थानीय तहको आसन्न निर्वाचनमा लोसपाले मधेस प्रदेशमा केही पालिकामा जित हासिल गर्न सक्ने भएपनि अन्य प्रदेशमा एक सीट पनि नआउने दाबी उनको छ ।

पश्चिम मधेसमा रेशम चौधरी, गोविन्द चौधरी, हृदयेश त्रिपाठीलगायतका नेताका कारण लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको पार्टीले केही सिट जित्ने गरेकोमा अहिले ती नेताहरूमध्ये कोही पनि ठाकुरको साथमा छैनन् ।

लोसपाका कार्यकारिणी सदस्य अकबाल अहमदले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले पनि राम्रो नतिजा ल्याउने दाबी गरे ।
जसपा नेपाल गत भदौमा विभाजन भएपछि तराईमधेसमा बलियो राजनीतिक शक्तिको अपेक्षा गरेका जनता भने निराश छन् । जसपा नेपाल मधेस आन्दोलनको पृष्ठभूमि बोकेका सबैजसो नेता सम्मिलित सशक्त दल मानिएको थियो । तर महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले पार्टी विभाजन गराई लोसपा नेपाल गठन गरेपछि मधेस आन्दोलनको पृष्ठभूमि बोकेका दल दुई ध्रुवमा विभाजित भएका छन् । त्यसैले सकेसम्म यी दुवै दलबीच एकता, नभए पनि आगामी निर्वाचनमा यिनै दुई दलबीच तालमेल हुनुपर्ने पक्षमा दुवै दलका कार्यकर्ता छन् । तर, नेतृत्व तह भने आपसमा निकट र मित्रतापूर्ण सम्बन्ध राख्नपनि समस्या देखिदैँछ ।

२०६४÷०६५ देखि मोर्चाबन्दी तथा गठबन्धन बनाएर एक साथ आन्दोलन गरेका यी दलको बीचमा चुनावी गठबन्धन कहिले फापेन । लोसपाका नेता उपेन्द्र महतोले पहिलो र दोस्रो संविधानसभा चुनावमा दुई पार्टीबीच एकीकरण गर्ने प्रयास भए पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले पटक पटक धोका दिएको बताउँछन् ।

हाल जसपा नेपाल र लोसपा नेपालका नेताहरु ०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा अलग अलग दलमा यसैगरी ध्रुवीकृत थिए । उनीहरुबीच चुनावी गठबन्धन भयो र नतिजा राम्रो आयो ।

पहिलो मधेस आन्दोलनमा मधेसवादी दलबीच मोर्चाबन्दी नै भएको थियो । चुनावमा पनि सँगै मिलेर जाने कुरा समेत थियो । त्यसका लागि तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रतीक्षामा तत्कालीन तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौँमा बसेका थिए । तर उपेन्द्र यादव भने एक्लै चुनावको तयारीमा लागे । तत्कालीन फोरम एक्लै चुनाव लड्ने गरी अगाडि बढेपछि तमलोपा र सद्भावना पार्टी पनि एक्लाएक्लै चुनाव लडेकै थिए ।

मधेसी मोर्चाबीच २०७० को चुनावमा सहभागी नै नहुने निर्णय भएको थियो । तर उपेन्द्र यादव फेरि भित्रभित्रै चुनावको तयारीमा लागेपछि अन्य मधेसवादी दल पनि निर्वाचनमा जान बाध्य भएका थिए । २०७४ को चुनावमा पनि संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने निर्णय तत्कालीन मधेसी मोर्चामा भएको थियो । तर उपेन्द्र यादव भने भित्रभित्रै चुनावको तयारीमा लागिसकेका थिए ।

उपेन्द्र यादवले धोका दिएको कारणले स्थानीय तहको पहिलो चरणको चुनावमा महन्थ ठाकुरको पार्टीले भाग नै लिन नसकेको लोसपाका नेता उपेन्द्र महतोले बताए । दोस्रो चरणमा भएको स्थानीय तहको चुनावमा मात्र तत्कालीन राजपा नेपालले भाग लिएको थियो ।

पछि प्रदेश र प्रतिनिधिसभाको चुनावमा मात्र तत्कालीन फोरम र राजपा नेपालबीच गठबन्धन भएको थियो । दुवै दलले प्रतिनिधिसभामा ३४ सीट ल्याएका थिए भने मधेस प्रदेशमा ५५ सीट ल्याउन सफल भए ।

मधेस प्रदेशमा तत्कालीन फोरमले २६ स्थानीय तहमा प्रमुखमा जितेको थियो भने तत्कालीन राजपाले २५ वटा स्थानीय तहको प्रमुख जितेको थियो । दुवै दल मधेसमा बराबरको शक्तिमा थिए ।

चुनावबाट बराबरको शक्तिमा रहेका यी दुवै शक्तिमध्ये उपेन्द्र यादव शक्तिशाली भए । मधेस प्रदेशमा उपेन्द्र यादवले ३० सीट जितेका थिए तर यो विभाजनपछि जसपा नेपाल ३९ जना प्रदेशसभा सदस्यको पार्टी बन्यो ।

संघमा उपेन्द्र यादवको पार्टीले १६ सीट जितेका थिए । तर यो विभाजनपछि उपेन्द्र यादव नेतृत्वको पार्टी २१ सीटको पार्टी भएको छ । स्थानीय तहमा पनि उपेन्द्र यादव नेतृत्वको जसपा लोसपाभन्दा शक्तिशाली भएको छ । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राजपाले प्रदेशमा २५ वटा सीट जितेको थियो तर अहिले त्यो दलसँग १६ सीट मात्र बाँकी छ ।

संघमा महन्थ ठाकुर नेतृत्वको पार्टीले १७ वटा सीट जितेको थियो तर अहिले १२ सीटमा सीमित भएको छ ।

जसपाका प्रदेश–१ मा तीन, बागमतीमा एक, लुम्बिनीमा तीन र सुदूरपश्चिम प्रदेशमा दुई प्रदेश सांसद छन् । लुम्बिनी प्रदेशमा ६ प्रदेशसभा सदस्य रहेकोमा ठाकुर पक्षमा लागेका तीन जनालाई जसपाले कारबाही गरेपछि उनीहरूको पद गइसकेको छ । महन्थ ठाकुर नेतृत्वको लोसपासँग प्रदेश–२ बाहेक अन्य प्रदेशमा प्रदेशसभा सदस्य छैनन् । जसपा संघ, प्रदेश र स्थानीय तहमा लोसपाभन्दा शक्तिशाली छ ।

चुनावको मिति घोषणा हुँदा स्थानीय तहबाट केही नेता तथा कार्यकर्ता लोसपामा गएका छन् भने लोसपाबाट केही नेता तथा कार्यकर्ता जसपामा आएका छन् । त्यो आउने जाने क्रम अझै जारी छ । दुवै पार्टीले एक अर्काको नेता तथा कार्यकर्ता तान्ने प्रयासमा लागेका छन् । यसले दुईमध्ये को ठुलो भन्ने विषयमा मात्र अर्थ राख्ने जानकारहरु बताउँछन् ।