पर्सा, चैत्र २१
पर्सामा आगामी स्थानीय तहको निर्वाचनका लागि कूल तीन लाख ३९ हजार ८३६ मतदाता रहेका छन् ।
निर्वाचन आयोगले जनाए अनुसार पर्सा जिल्लाका १४ स्थानीय तहमा कूल एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र १६ अन्य गरेर उक्त संख्यामा मतदाता पुगेका हुन् ।
गत स्थानीय तहको निर्वाचनमा दुई लाख ८० हजार २१२ मतदाता रहेको थियो भने यसपटक ५९ हजार ६२४ मतदाता थपिएको निर्वाचन आयोगले जनाएका छन् ।
सबैभन्दा बढी मतदाता पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकामा एक लाख २४ हजार ६४७ जनसंख्या छन् । गत स्थानीय तहको निर्वाचनभन्दा अहिले १५ हजार ८४६ मतदाता वीरगञ्जमा बढेका हुन् । सबैभन्दा कम मतदाता भने धोविनी गाउँपालिकामा छ । त्यहाँ १२ हजार २३६ मतदाता मात्र छन् ।
त्यस्तै तीन नगरपालिकामध्ये सबैभन्दा धेरै बहुदरमाई नगरपालिकामा २४ हजार ३१३, पर्सागढी नगरपालिकामा २२ हजार ८०७ र पोखरिया नगरपालिकामा १९ हजार ६६४ मतदाता छन् ।
गाउँपालिकामध्ये सबैभन्दा धेरै सखुवापर्सौनी गाउँपालिकामा १९ हजार ७६३, छिपहरमाई गाउँपालिकामा १५ हजार ६६४, जगरनाथपुर गाउँपालिकामा १८ हजार ६१, पकाहमैनपुर गाउँपालिकामा १२ हजार ३१४, विन्दवासिनी गाउँपालिकामा १४ हजार ८०४, कालिकामाई गाउँपालिकामा १२ हजार ९७५, जिराभवानी गाउँपालिकामा १३ हजार ९२९, ठोरी गाउँपालिकामा १४ हजार ७०८ र पटेर्वासुगौली गाउँपालिकामा १३ हजार ९२० मतदाता संख्या छन् ।
स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।