जनकपुर, चैत्र २१

बहुप्रतिक्षित रेल सञ्चालन भएपछि सर्वसाधारण देखि व्यापारी व्यवसायी समेत खुसीले गदगद छन् । रेल सेवा सञ्चालसंगै विभिन्न गुनासाहरु पनि यदाकदा सुनिन थालिएका छन् । सर्वसाधारण खुसीले गदगद हुँदै गर्दा व्यापारी तथा व्यवसायीहरु भने रेलमा सामान ल्याउने व्यवस्था नभएको भन्दै ध्यान दिन थालेका छन् ।

कुर्था–जनकपुर–जयनगर नेपाल रेल्वे सञ्चालन भएपछि व्यापारी तथा व्यवसायीहरुले रेलमा सामान ढुवानीका लागि बोगी नभएको भन्दै मन्त्री रेणुकुमारी समक्ष गुनासो गरेका छन् ।

सो रेलमा मालबाहक बोगी नहुँदा भारत तर्फबाट व्यापारका लागि आवश्यक सामग्री ल्याउने व्यवस्था नभएको भन्दै संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव समक्ष गुनासो गरेका हुन् ।

आज जनकपुरधाम उद्योग वाणिज्य संघले मन्त्री यादवलाई ज्ञापन पत्र बुझाउँदै मालबाहक बोगीको व्यवस्था तत्काल मिलाइदिनका लागि माग गरेका छन् ।

संघका अध्यक्ष जितेन्द्रकुमार महासेठ र महासचिव मनोजकुमार साहले संयूक्तरुपमा मन्त्री यादवलाई ज्ञापनपत्र बुझाउँदै रेल्वेमा मालबाहक बोगीको व्यवस्था मिलाउन माग गरेका हुन् ।

सो ज्ञापनपत्रमा ‘भारबाट आउने माल सामान ओसार पसारका लागि मालबाहक बोगी न्यूनतम १५ थान आवश्यक भएकोले अविलम्ब मालवाहक बोगीको व्यवस्था मिलाई आर्थिक जगतलाई आवश्यक टेवा पुर्याई दिन हुन सादर अनुरोध गर्दछौँ ।’ उल्लेख छ ।