रौतहट, चैत्र २२

मुलुकमा सुशासन नभएकै कारण प्रभु साह जस्ता अपराधिहरु मौलाएको नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले बताएका छन् ।

रौतहटको मौलापुरमा सुशासन पार्टी रौतहटको सोमबार आयोजित सभामा अध्यक्ष खरेलले देशमा सुशासन भएको भए प्रभु साह जेलमा हुनुपर्ने बताएका हुन् ।

पूर्व डिआइजी समेत रहको अध्यक्ष खरेलले भने, ‘तत्कालीन अनुसन्धान अधिकृतको हैसियतबाट बोल्दैछु यदि साँच्चिकै देशमा सुशासन भएको भए प्रभु साह जेलमा बस्नु पर्ने व्यक्ति हो ।’

हिन्दू संघ वीरगञ्जको अध्यक्ष काशीनाथ तिवारी हत्याकाण्डमा प्रभु साहको संलग्नता रहेको भन्दै अध्यक्ष खरेलले हत्यारा भ्रष्टाचारीलाई सजाय दिलाउन र मुलुकमा सुशासन कायम गर्न नेपाल सुशासन पार्टी स्थापना गरेको बताए ।

सो सभामा पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजकुमार यादव, केन्द्रीय सदस्य सविता झा, केन्द्रीय सदस्य तथा मौलापुर नगरपालिका मेयर प्रत्याशी आर सि यादव, जिल्ला अध्यक्ष रञ्जित कुमार पटेललगायतका वक्ताहरुले मौलापुर नगरपालिकामा भएको भ्रष्टाचारको छानबिन गरी कडा भन्दा कडा कारवाही गर्न जोडदार माग गरेका छन् ।

सो अवसरमा बिभिन्न पार्टी परित्याग गरी सुशासन पार्टीमा प्रवेश गर्नेहरुलाई केन्द्रीय अध्यक्ष खरेलले स्वागत सहित पार्टी भित्रियाएका थिए ।