सिरहा, चैत्र २२

सिरहाको एक विद्यालयमा दिवा खाजामा अनियमितता गरेको प्रधानाध्यापकलाई प्रहरीले गरेका छन् ।

मंगलबार सिरहाको औरही गाउँपालिकास्थित आधारभूत विद्यालय खजनपुरका प्रधानाध्यापक उमेन्द्र कुमार यादवलाई दिवा खाजामा अनियमितता गरेको भन्दै प्रहरीले पक्राउ गरेका हुन् ।

निर्वाचन सम्बन्धी अनुगमनमा गएको बेला विद्यालयमा प्रधानाध्यापक यादवले दिवा खाजामा छात्रछात्रालाई बिस्कुट र चाउचाउ खुवाएर रकम अनियमितता गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

दिवा खाजाका लागि सरकारले रकम दिएपनि सो विद्यालयले विद्यार्थीलाई खाजाको साटो चाउचाउ र बिस्कुट खुवाएर अनियमितता गरेको प्रजिअ कवारीले बताए ।

पक्राउ परेका हेडमास्टरलाई प्रहरी चौकीमा राखिएको छ भने विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई दिवा खाजाको हरहिसाब किताब लिएर आउन निर्देशन दिइएको प्रजिअ कवारीले बताए ।

सबै कागजात आएपछि सोमाथि छानबिन गरि प्रधानाध्यापक यादवलाई छाडिने प्रजिअ कवारीले स्पष्ट पारे ।