जनकपुर, चैत्र २३
नेकपा एमालेबाट विभाजित भएर अलग भएको नेकपा एकीकृत समाजवादीका नेताहरू पहिलोपटक आफ्नो संगठनको अवस्था अध्ययन गर्न फिल्डमा खटेका छन् ।
एकीकृत समाजवादीको चैत ३ गते बसेको सचिवालय बैठकले पार्टीको अवस्था र सम्भावित चुनावी रणनीतिका विषयमा अध्ययन गर्न नेताहरूलाई फिल्डमा खटाइएको थियो ।
एकीकृत समाजवादीको अवस्था र सम्भावित चुनावी रणनीति तय गर्न प्रदेश नम्बर १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधार, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनी प्रदेशमा विजय पौडेल, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बेदुराम भुसाललाई खटाइएको थियो ।
एमालेबाट एकीकृत समाजवादी अलग भएपछि देशैभरबाट स्थानीय तहमा १ हजार ५ सय १ जनाले एकीकृत समाजवादी रोजेका थिए । पछिल्लो समय स्थानीय जनप्रतिनिधि एकीकृत समाजवादी रोज्नेको संख्या बढ्दै गएकाले अझ बढ्न सक्ने एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
उनले भने, ‘चैत ५ गतेदेखि २० गतेसम्म ‘जनतामा जाऊँ, एकीकृत समाजवादीलाई जिताऊँ’ भन्ने नाराका साथ अधिकांश पालिका, वडा र टोल कमिटी गठन गरेका छौँ’ उनले अघि थप्दैँ भने, ‘सबै प्रदेशमा खटिनुभएका कमरेडहरूले अध्ययन गरेर रिर्पोट ल्याउनुभएको छ । यसपछि संगठनको हैसियत थाहा हुनेछ र यसैलाई आधार बनाएर चुनावी तालमेलमा सिट दाबी गर्छौँ ।’
सातै प्रदेशको रिर्पोट अध्ययन गरेर चैत मसान्तभित्र पार्टीले स्थानीय तहको सिट दाबी गर्ने नेता खतिवडाले बताए । यसअघि एमालेले जितेका स्थानीय तहमा आफूहरूले नेतृत्व पाउनुपर्ने एकीकृत समाजवादीले सर्त राखेका छन् । देशभरिका ६ वटा महानरपालिकामध्ये एमालेले जितेका काठमाडौँ वा पोखरामध्ये एउटा महानगर आफूहरूले पाउनुपर्ने एकीकृत समाजवादीको माग छ ।
तर, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालले भने एमालेले जितेको सानो अंश एकीकृत समाजवादीलाई दिएर अरु वा तालमेल गर्नुपर्ने अडानमा छन् । काँग्रेसले भने स्थानीय तहको मतदाताका आधारमा चुनावी तालमेल गर्नुपर्ने बताउँदै आएका छन् । सत्ता गठबन्धनमा ७५३ स्थानीय तहमा कुन मोडलमा भागबण्डा गर्ने भन्ने विषयमा सहमति भने भएको छैन ।
गठबन्धनको प्रक्रियाबारे सहमति जुट्न नसकिरहेको अवस्थामा एकीकृत समाजवादीको सांगठनिक अवस्था र चुनावी समीकरणका विषयमा अध्ययन गरेर सातै प्रदेशबाट अध्ययन गरेर नेताहरू काठमाण्डौँ फर्केका छन् ।
सात वटै प्रदेशमा पार्टीको सांगठनिक अवस्था र जित्ने आँकलन गरिएका स्थानीय तहहरू सो पार्टीका नेताहरूले खासै खुलाउन भने चाहेनन् । चुनावी तालमेल गरेर कति सिट जित्न सकिन्छ भन्ने विषयमा समेत अधिकांश प्रदेशका नेतृत्वले खुलाउन चाहेनन् ।
तर मधेस प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी राम्रो अवस्थामा रहेको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले दाबी गरेका छन् । प्रदेशसँगै स्थानीय तहमा धेरै जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेकाले संगठन बनाउन सजिलो भएको समेत उनले बताए ।
उनले भने, ‘संगठनको अवस्थाका बारेमा अवलोकन गर्न मधेस प्रदेश गरेको थिएँ । अधिकांश पालिका र वडामा कमिटी गठन गरिसकेका छौँ’ खतिवडाले भने, ‘सबै पालिकाको तथ्यांक लिइरहेका छौँ, सबै तथ्यांक विश्लेषण गरेर गठबन्धनमा दाबी गर्छौँ ।’
अहिले नै कति स्थानीय तहमा दाबी गर्ने भन्ने विषय बाहिर ल्याउँदा राम्रो नहुने उपमहासचिव खतिवडाको जिकिर छ । मधेस प्रदेशमा एमाले राम्रो भएको प्रचार गरिए पनि स्थानीय चुनावमा जनताले देखाइदिने उनको दावी छ ।