जनकपुर, चैत्र २३

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ । निर्वाचन नजिकिँदै जाँदा दलितहरु एकत्रित भई हिसाब किताबमा व्यस्त छन् ।

०७४ को स्थानीय तहको निर्वाचनमा दलित र महिलालाई निर्वाचन आयोगले व्यवस्था गरेबमोजिम आरक्षित कोटामा राजनीतिक दलहरुले प्रतिनिधित्व गराएको थियो । आरक्षण सिट निर्धारण गरिएको व्यवस्था भन्दा पनि दलित जनसंख्याको आधारमा स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाअध्यक्ष जस्ता पदमा टिकट नदिएको भन्दै दलित र महिलाहरु राजनीतिक दल प्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

धनुषामा १८ वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्य गरि ८८० वटा पदमा मुख्य पदमा न्यून जनप्रतिनिधिहरु निर्वाचित छन् । तर विभिन्न राजनीतिक दलमा आवद्ध दलित नेता अगुवाहरुले भने अब हुने स्थानीय तहको निर्वाचनमा दलितको जनसंख्या अनुपातमा मुख्य सिटसहितको व्यवस्था गर्नका लागि माग गरेका छन् ।

राजनीतिक दलहरुले जनवर्गीय संगठनको रुपमा दलित संगठन पनि गठन गरेका छन् ।

दलित संगठनलाई पनि पार्टी देखि राजनीतिक गतिविधि र राजनीतिक नियूक्ती देखि निर्वाचन सम्ममा पदीय भागवण्डा खोज्ने गरी दलित र दलित महिलाहरु गोलबन्द हुन थालेका छन् ।

तर धनुषाको एक पालिकामा मात्रै दलितले अगुवाई गर्न पाएका छन् भने अन्य पालिकामा नगर उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमा समेत दलित प्रतिनिधित्व शुन्य रहेको दलित नेताहरुको निष्कर्ष छ ।

दलित नेतृ रासो देवीे स्थानीय तहको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्वको न्यून सहभागिता गराएको भन्दै उनले असन्तुष्टी व्यक्त गरिन् । उनले दलित र महिलालाई पालिकामा भन्दा पनि वडामा सदस्यको रुपमा ल्याउने गरेको र सदस्यमा पनि वडाअध्यक्ष र पालिका प्रमुखले वास्ता नगर्दा आफु जनप्रतिनिधि रहेको वा नरहेको भन्नेमा पनि शंका उत्पन्न गरेको बताइन् ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ की वडा सदस्य सुमित्रा देवी महराले भनिन्, ‘राजनीतिक दलले दलित र दलित महिलालाई पार्टीको विभिन्न कार्यक्रम देखि राजनीतिक गतिविधिमा प्रयोग गरेपनि सत्तामा पुग्ने बेलामा नातागोता, छोराछोरी, आफ्ना जातका व्यक्तिलाई मात्रै दिने गरेकाले हामीलाई दलले प्रयोग गर्ने गरेको र फल खाने बेलामा सिमित व्यक्तिले खाने गरेको छ ।’

उनले नेताहरुको व्यवहारबाट असन्तुष्ट रहेको र ठग्ने गरेको आरोप लगाउँदै यसपालीको निर्वाचनमा सचेत भएर दलितहरु एक ढिक्का भएर अघि बढ्ने बताइन् ।

तर जनकपुरधाम उपमहानगरपालिका कार्यपालिकाको बोर्ड सदस्य समेत रहेकी सुनिता देवी मेस्तरनीले आफु संलग्न रहेको पार्टीबाट मुख्य पदका लागि नेताहरुलाई अहिले नै दवाव दिने बताइन् । यसका लागि अहिले नै आ–आफ्ना पार्टीमा मुख्य पदका लागि दवाव सृजना गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘यदी मुख्य पदमा दलितलाई नल्याएमा सबै दलित समुदायहरु एकत्रित भई राजनीतिक दलको विकल्प खोज्नु पर्ने बताइन् ।

तर नेकपा माओवादी केन्द्र धनुषाका कार्यालय सचिव श्रीनारायण प्रतिहस्तले पार्टीले दलितलाई आरक्षितसहित खुल्ला पदमा समेत ल्याउने प्रयास जनयूद्धकाल देखि अहिलेसम्म दलितलाई नेताका रुपमा प्रोत्साहनसहित अघि बढाउँदै आएको दावी गरे । उनले माओवादीकै कारण दलित, महिला, आदीवासी, जनजाती, उत्पिडित, उपेक्षित वर्ग, जातिय, क्षेत्रीय र सिमान्तकृत वर्गका लागि लडेको पार्टी रहेकाले हरेक वर्गलाई अवसर दिँदै आएको बताए ।

उनले भने, ‘पार्टीमा दलितको संख्याको अनुपातमा पनि हामी पार्टीको मुख्य पददेखि सरकारको राजनीतिक पदमा समेत दिन हामी तयार छौँ, तर यसका लागि पार्टी सदस्यता लिनुपर्ने हुन्छ, सो लिएपछि पो विभिन्न समुदायले आ–आफ्नो पदको दावी समेत गर्न पाउँछ ।’ नेता प्रतिहस्तले अघि थप्दैँ भने, ‘पार्टीको साधारण सदस्यता अनुसार नै पार्टीको पद र निर्वाचनमा पनि अवसर मिल्ने हो, यसका लागि सदस्यता अनिवार्यरुपमा लिनुपर्ने हुन्छ ।’

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषाका अध्यक्ष परमेश्वर साहले दलितहरुलाई पनि राजनीतिक प्रति चाँसो रहोस् र सत्तासम्म पहुँच होस् भन्ने उद्देश्यले आरक्षणको व्यवस्था गरिएको बताए । उनले भने, ‘दलित, महिलालगायतकालाई हामीले अवसर दिने गरेका छौँ ।’

दलितको अवस्था र स्थानीय निकायमा पहुँच

०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट धनुषाको विदेह नगरपालिकामा बेचन दास मेयर पदमा निर्वाचित भएका छन् ।
धनुषामा ८८० जना जनप्रतिनिधिमध्ये २१७ जना दलित स्थानीय तहको विभिन्न पदमा निर्वाचित रहेको निर्वाचन आयोगको तथ्यांकमा छ ।
त्यस्तै धनुषामा कुल १६९ वडा मध्ये ५ जना दलितले वडाअध्यक्ष पदमा निर्वाचित छन् ।
त्यस्तै खुल्ला सदस्य ३३८ मध्ये ३२ जना दलित निर्वाचित छन् । भने महिला सदस्य १६९ मध्ये १२ जना दलित महिला रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
आरक्षण सिट सहित दलित महिला सदस्य १६८ जना धनुषामा निर्वाचित छन् ।

स्थानीय तहमा वडा सदस्यमा एक जना दलित महिलालाई अनिवार्यरुपमा आरक्षणको व्यवस्था गरिएको छ । भने नगर कार्य पालिकामा ३ र गाउँ कार्यपालिकामा २ जना दलित वा अल्पसंख्यक निर्वाचित हुने व्यवस्था छ ।

०७४ को स्थानीय तहको निर्वाचनमा धनुषामा ७ लाख ५३ हजार ४ सय ७४ मतदाता थियो । भने जसमध्ये दलित मतदाताको संख्या १ लाख १७ हजार ८ सय ३७ रहेको निर्वाचन आयोगले जनाएको छ ।

०७४ को स्थानीय तहको निर्वाचनमा औरही गाउँपालिका २२५७८ मध्ये ३२३३ दलित, बटेश्वर गाउँपालिकामा २१५३० मतदाता मध्ये २६३५ दलित, विदेह नगरपालिकामा मतदाता ३२२६६ मध्ये १५७३६ दलित, क्षीरेश्वरनाथ नगरपालिकामा मतदाता ४१५८५ मध्ये ६८९९ दलित, धनौजी गाउँपालिकामा २१३९५ मतदाता मध्ये २२७० दलित, धनुषाधाम नगरपालिकामा ४५५८५ मतदाता मध्ये ९३२८, गणेशमान चारनाथ नगरपालिकामा ३६३३८ मतदाता मध्ये ६१३७ दलित, हँसपुर नगरपालिकामा ३८२१६ मतदाता मध्ये ७५१६ दलित, जनकनन्दनी गाउँपालिकामा २५३३८ मतदाता मध्ये ४९७२ दलित, जनकपुरधाम उपमहानगरपालिका १६२१७२ मतदाता मध्ये २२७४९ दलित, कमला नगरपालिका ३८६२४ मतदाता मध्ये ७५८० दलित, लक्ष्मीनीयाँ गाउँपालिकामा २८२५१ मतदाता मध्ये ५२१३ दलित, मिथिला बिहारी नगरपालिकामा ३३५५६ मतदाता मध्ये ५९७२ दलित मतदाता, मिथिला नगरपालिकामा ४५१६४ मतदाता मध्ये ५५५० दलित मतदाता, मुखियापट्टी मुसहरनीया गाउँपालिका २५४८२ मतदाता मध्ये २२५८ दलित मतदाता, नगराइन नगरपालिकामा ३५५८३ मतदाता मध्ये ६६०६ दलित मतदाता, सबैला नगरपालिकामा ५२३८९ मतदाता मध्ये ७४६० दलित मतदाता, शहिदनगर नगरपालिकामा ४७४२२ मतदाता मध्ये ११४५९ दलित मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । अब हुने निर्वाचनमा भने करिब डेढ लाख मतदाता संख्या बढेको छ ।