सर्लाही, चैत्र २४
सरकारले मल र बिउमा सुविधा नदिँदा गोलभेँडा खेती गर्ने सर्लाहीका किसान मर्कामा पर्दै आएका छन् । भारतमा गोलभेँडाको बिउ ५ ग्रामको २ सय रुपैयाँ पर्छ । तर त्यही बिउ नेपाल आइपुग्दा ११ सय रुपैयाँ पर्ने गरेको हरिवन नगरपालिका वडा नम्बर ४ स्थित तीन घरेका किसान उमेश चौधरीले बताए ।
३ बिगाहा जग्गामा व्यावसायिक गोलभेँडा अर्थात टमाटर खेती गर्दै आएका चौधरीले सरकारले मल र बिउ अनुदानमा उपलब्ध नगराउँदा आफूहरु मर्कामा परेको गुनासो गरे । उनले भने, ‘सरकारले अनुदान सुविधा नदिएकै कारण गोलभेँडा खेती खर्चिलो बन्दै गएको छ,’ उनले अघि थप्दै भने, ‘गोलभेँडाको बिउमा सरकारले चर्को भ्याट लगाएको छ ।’ सरकारले बिउमा लाग्ने भ्याटमात्र छुट गरिदिए किसानलाई धेरै राहत मिल्ने उनको तर्क छ ।
तरकारी खेतीमा बिउ र मलमै किसानले सबभन्दा बढी रकम खर्च गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । चौधरीले एक्लै ३ बिगाहा जग्गामा यसपाली गोलभेँडा खेती गरेको जानकारी दिए । यहाँका किसानले सरकारको भरोसामा नभई आफ्नै बलबुतामा गोलभेँडा खेती गर्दै आएको उनले बताए ।
गोलभेँडा खेती गर्ने किसानले अहिलेसम्म सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल र बिउ पाउन नसकेको उनले गुनासो गरे । उनीजस्तै हरिवन–३ अत्रौलीका किसान रामकुमार कुशवाहाको पनि सरकारप्रति धेरै गुनासो छ । उनले भने, ‘व्यावसायिक खेती गर्ने किसानलाई सरकारले हेरेकै छैन,’ उनले भने, ‘यदी हेरिदिएको भए गोलभेँडा खेतीको लागत हदैसम्म घटने थियो ।’
उत्पादन लागत घटेपछि गोलभेँडा सहितका तरकारीको मूल्य पनि सस्तो हुने थियो । तर उत्पादन लागत बढेकै कारण तरकारीको भाउ पनि उच्च रहने गरेको उनको भनाइ छ । यसपाली ३ बिगाहामा गरेको खेतीबाट अहिलेसम्म ३४ सय क्रेट गोलभेँडा उत्पादन भइसकेको कुशवाहाले जानकारी दिए । अहिले पनि गोलभेँडा फल्ने क्रम जारी रहेको उनले बताए ।
उनका अनुसार, एक क्रेटमा कम्तीमा २५ देखि २० किलो गोलभेँडा अटाउँछ । थोकमा बिक्री गर्दा एक क्रेट गोलभेँडाबाट कम्तीमा एक हजार रुपैयाँ आम्दानी हुन्छ । झट्ट हेर्दा धेरै अम्दानी देखिन्छ तर गोलभेँडा खेतीका लागि हुने खर्च कटाउँदा आम्दानी कम हुने उनले बताए ।
सरकारी निकायले कृषि क्षेत्रलाई बेवास्ता गरेकै कारण तरकारी खेतीमा लागेका किसान र आम उपभोक्ता चरम महँगीको सामना गर्न बाध्य भएको सर्लाहीकै अर्का अगुवा कृषक महेश यादवले गुनासो गरे । स्थानीय किसानले उत्पादन गरेको गोलभेँडा थोकमा खरीद बिक्री गर्न सर्लाहीको हरिवन नगरपालिका–४, तीनघरेमा बिक्री केन्द्र राखिएको छ ।
त्यहाँ दैनिक ४÷५ सय क्रेट गोलभेँडा जम्मा हुने गर्दछ । यसरी जम्मा भएको सबै गोलभेँडा राजधानी काठमाडौं लगायत बीरगंज, हेटौडा, भरतपुर, पोखरा लगायतका सहरमा बिक्रीका लागि पठाउने गरिएको उनले जनाए ।
अहिले गोलभेँडाको अफ सिजन हुन लागेकोले विस्तारै यसको उत्पादन घट्न थालेको छ । व्यावसायिक गोलभेँडा खेतीका लागि सर्लाहीको हरिवन नगरपालिका मधेश प्रदेशको सबैभन्दा प्रसिद्ध ठाउँ हो ।