सिरहा, चैत्र २४

नागरिकता विधेयक पारित नुहुनमा एमालेको अवरोध मुख्य कारण रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

बिहीबार सिरहामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको बताएका हुन् ।

सिरहाको मिर्चैयामा आयोजित सहिद कमरेड रामप्रताप साह प्रवेश द्वार उद्घाटन तथा नगर अस्पताल भवन शिलान्यास कार्यक्रममा उनले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको स्पष्ट पारे ।

उनले संसद अवरोध भएपछि अध्यादेश बाट नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकतासम्बन्धी अध्यादेश ल्याउन रोक लगाउँदा प्रतिनिधिसभाबाट पारित गर्न नसकिएको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने रहेछ ।’

 

अध्यादेशबाट नागरिकताको समाधान नहुनसकेपछि सदनबाट पारित गराउन प्रस्ताव राख्दा एमाले र केपी ओली गुटले अवरोध खडा गरे रोकेको प्रचण्डको आरोप छ ।

संसद अधिवेशन सुरु भएपछि एमालेको अवरोधकै बीच भएपनि नागरिकता विधेयक जसरी भएपनि पारित हुनेमा विश्वस्त रहन उनले आग्रह गरे ।

अध्यक्ष प्रचण्डले सदन अवरोध भए पनि बजेट र एमसीसी पारित गरेजस्तै अब सदन खुल्नेवित्तिकै नागरिकता विधेयक पनि पारित गर्ने बताए ।