
जनकपुर, चैत्र २४
बुधबार धनुषाको हँसपुर नगरपालिका स्थित गहुँ खेतमा विजय रामको विभत्स तरिकाले हत्या गरेको अवस्थामा प्रहरीलाई शव फेला परेको थियो ।
सो हत्यामा संलग्न रहेको भन्दै धनुषा प्रहरीले एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ७ स्थित नौवाखोर बस्ने २० वर्षीय मनोज महरा रहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
विजय रामको शव फेला परेको घटना बारे प्रहरीलाई जानकारी भएसंगै अनुसन्धान सुरु थालेको थियो । सो घटनामा महरा सहित तीनजनाको संलग्नता रहेको खुलेको उनले बताए ।
प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको अनुसन्धान टोलीले घटनाबारे सुक्ष्म अनुसन्धान र विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्दा विजय राम मंगलवार राति ७ बजे ३ जना साथीहरुसँग घर बाहिर घुम्न गएका थिए ।
धनुषा प्रहरीले शंकाको आधारमा महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्नेक्रममा हँसपुर वडा नम्बर ७ बस्ने १९ वर्षीय पंकज मण्डल, २२ वर्षीय जितु मण्डल र महराले मिलेर विजयलाई गोली हानी हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
उनीहरुले पुरानो रिसिबीको बदला लिने उद्देश्यले विजयको हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
विजयको हत्या उनकै साथीबाट भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए । प्रहरी उपरीक्षक रजौरेले भने, ‘तिनीहरुको धेरै पहिला लागूऔषध सेवन गर्नका लागि विवाद भएको थियो । सो क्रममा तिनीहरुबीच विवाद हुँदा विजयको हत्या गर्ने योजना बनेको थियो ।’
उनले अघि थप्दैँ भने, ‘हत्या भएका युवाले विभिन्न व्यक्तिको घरमा चोरी गर्ने साथीहरुको नाम भनेपछि प्रहरीले खोजतलास गर्दा दुःख हुन्थ्यो । त्यसपछि हत्याको योजना बनाएको खुलेको हो ।’
पक्राउ परेका मनोजमाथि ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको उनले बताए । यता फरार रहेका दुबै जनाको खोजतलास भइरहेको समेत उनले बताए ।