
गठबन्धन गरेमा हिस्सा खोज्दैँ गठबन्धन नमान्ने
जनकपुर, चैत्र २४
नेपाली कांग्रेस मधेश प्रदेश समितिले संस्थापन पक्षले कोइराला समुहलाई बेवास्ता गर्दै प्रदेश समितिको जिम्मेवारी बाँडफाँड र संसदीय समिति गठन गरेको भन्दै छुट्टै बैठक बसेका छन् ।
बिहीबार बर्दिबासमा काँग्रेस मधेश प्रदेश समितिको निर्णयको विरुद्धमा असन्तुष्ट पक्षधरहरुले स्थानीय तहको निर्वाचनमा भागवण्डासहित गठबन्धन नमान्ने भएका हुन् ।
स्थानीय तह निर्वाचन आउँदै गर्दा काँग्रेस मधेस प्रदेशमा असन्तुष्टि देखिएको हो । प्रदेश समितिले एकलौटी ढंगले विभिन्न समितिहरू गठन गरि जिम्मेवारी बाँडफाँड गरेको भन्दै प्रदेश कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।
कांग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादवले कार्यसम्पादन र संसदीय समिति गठन एक्लौटी ढंगले गरेको आरोप असन्तुष्ट समुहको आरोप छ ।
विमलेन्द्र निधि समुह तथा कोइराला समूहको बैठक मधेश प्रदेशमा स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि बैठक राखेको थियो । निर्वाचनमा उम्मेदवार छनोट गर्दा कसरी र कुन मापदण्ड बनाउने भन्ने विषयमा बैठकले निश्कर्ष निकाल्ने छन् ।
कोइराला समूहबाट मधेश प्रदेशमा उपसभापतिमा पराजित विनोद खनालले बैठक उम्मेदवार छनोट कसरी गर्ने भन्नेमा समेत केन्द्रित रहेको जानकारी दिए ।
काँग्रेस मधेश प्रदेश समितिका सदस्य जीवनाथ चौधरीले विभिन्न समितिहरु एक्लौटी ढंगले विना जानकारी गरेकोमा आपत्ति जनाएका छन् । उनले निर्वाचनमा एकढिक्का भएर अगाडि बढ्नुपर्ने बेलामा सभापति यादवले एकलौटीढंगले निर्णय गर्दा काँग्रेस भित्र असन्तुष्टि बढेको बताए ।
उनले भने, ‘उम्मेदवार छनोट गर्न २० दिनभन्दा पनि कम समय बाँकी रहँदा सबै पक्षलाई समेटेर कार्यसम्पादन र संसदीय समिति गठन गर्नुपर्नेमा एकलौटी ढंगले गरिएको छ ।’ सबैलाई समेटेर अघि बढ्नुपर्ने उनको माग छ ।
बैठकमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव समेत सहभागी छन् ।
यस बैठकमा काँग्रेस मधेश प्रदेशको प्रदेश अधिवेशनमा पराजित भएका विमलेन्द्र निधि समुह र कोइराला समुहका आठ वटै जिल्लाका पराजित सभापति तथा निर्वचित सभापति, नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
मधेश प्रदेशमा निधि तथा कोइराला समुहबा सप्तरीका सभापति रामदेव यादव र धनुषावाट सभापति जोगी पँजियार थिए भने सिरहामा कोइराला समूहको समानान्तर कमिटीका सभापति रामसुन्दर चौधरीको समेत सहभागिता रहेको थियो ।
उनीहरुले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्नु नहुने धारणा समेत बनाएका छन् गठबन्धन भए पनि कोइराला समूहले आफुहरूले भनेजस्तो उम्मेदवार छान्न पाउनुपर्ने लबिङ गर्ने भएका छन् ।