जनकपुर, चैत्र २५

जनकपुरधाममा केही दिन देखि विभिन्न व्यवसायमा आगजनीका घटनाहरु हुन थालेपछि व्यवसायीहरु चिन्तित बनेका छन् ।

यसै विषयलाई लिएर व्यवसायीहरुले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् ।

धनुषाका व्यावसायीहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।

पछिल्लो केही समय देखि धनुषामा चोरी आगजनी तथा अपराधिक किसिमको घटनामा वृद्धि भएको बताउँदै जनकपुरधाम उद्योग वाणिज्य संघका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।

जनकपुरधामको संकट मोचन मन्दिर तर्फ रहेको एक व्यापारीक प्रतिष्ठानमा बिहीबार राति आगजनी तथा लुटपाट भएको घटना सार्वजनिक भयो । त्यस्तै सरन्चियाकुटी स्थित एक मिलमा आगजनी भएको थियो ।

जनकपुरधाममा व्यापारीक प्रतिष्ठानमा आगजनी तथा लुटपाटको घटना बढ्न थालेपछि व्यापारी तथा व्यवसायीहरु शान्ति सुरक्षाको माग गर्दै घटनाहरुलाई गम्भिरतापूर्वक लिई छानविन गर्न समेत माग गरेका छन् ।

जउवा संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले धनुषामा पछिल्लो समय घटेको घटनाले आम नागरिक तथा व्यवसायीहरुमा त्रासको वातावरण सृजना भएको बताउँदै उनले तत्काल शान्ति सुरक्षा कायम गर्न माग गर्दै प्रजिअ पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।

उनले जनकपुरधाममा केही दिनदेखि उद्योगी व्यवसायी तथा आम नागरिकहरुमा भयमा बाँचु परेकाले शान्ति सुरक्षाको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी पौडेलसंग माग गरे ।