जनकपुर, चैत्र २६
जनकपुरधाममा ‘जनकपुरधाम टि–२० च्याम्पियनसिप’ क्रिकेट टुर्नामेन्ट सुरु भएको छ ।
क्रिकेट खेलको सम्बद्र्धन एवम् प्रबद्र्धनका लागि तल्लो तहदेखि नै क्रिकेटलाई उकास्न तथा बढावा दिने उद्देश्यले धनुषा क्रिकेट संघले क्लब स्तरीय क्रिकेट प्रतियोगिता शनिबारदेखि जनकपुरधाममा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै निर्माण व्यवसायी दिपेन्द्र ठाकुरले युवाहरुको क्षमता अभिवृद्धिका लागि यस्ता प्रतियोगिताहरु निरन्तर आयोजना हुनुपर्ने कुरामाथि जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाअध्यक्ष जानकी राम साहले जनकपुरधाममा खेलकुलको विकासका लागि आफ्नो सहयोग निरन्तर रहिरहने प्रतिबद्धता जनाए ।
यस टुर्नामेन्टमा १६ वटा टिम सहभागी रहेको जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोेभाकान्त पाण्डे (गुड्डु)ले जानकारी दिए । उनले प्रतियोगितामा सहभागी १६ मध्ये ११ वटा टिम नेपालको र ५ वटा टिम भारतको रहेको बताए ।
पाण्डेले नक आउट लिगको आधारमा भईरहेको यो प्रतियोगिता बैशाख ४ गतेसम्म चल्ने बताए । यसअघि बृहत स्तरमा शहीद कप प्रतियोगिताको आयोजना गरिदैं आएपनि कोरोना संक्रमणको त्रासका कारण प्रभावित भएको र स्थानीयस्तरका टिमहरुलाई शामिल गरेर जनकपुरधाममा फेरि खेलको माहौल बनाउन लागिएको उनले बताए ।
उनले भने,‘स्थानीय क्लवहरुलाई शामिल गरेर आयोजना भईरहेको यो जनकपुरधाम टि–२० च्याम्पियनसिप प्रतियोगित सम्पन्न भए लगत्तै बृृहत स्तरको प्रतियोगिताको आयोजना गर्ने हाम्रो लक्ष्य रहेको छ ।’
प्रतियोगिताको पहिलो टिमलाई ५१ हजार राशीको पृुरस्कार प्रदान गरिने छ । त्यस्तै दोस्रो हुने टिमलाई २५ हजार राशीको पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजकसमेत रहेका जिल्ला क्रिकेट संघ धनुषाका सदस्य सरोज मिश्रले बताए ।
प्रतियोगिताका सहसंयोजक प्रेमचन्द्र रायले खेलमैत्री वातावरण सिर्जना गर्न र स–साना क्रिकेट टिमहरुलाई बढावा दिने उद्देश्यले प्रतियोगिता आयोजना भईरहेको छ ।