विराटनगर, चैत्र २६
नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार सिफारिस गरेको छ ।
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि एमोलेले मेयरमा ५ जना र उपमेयरमा तीन जनाको नाम सिफारिस गरेको हो ।
शनिबार विराटनगरमा एमालेको विराटनगर महानगर कमिटीको बसेको बैठकबाट नाम सिफारिस गरिएको हो ।
मेयरको उम्मेदवार सिफारिस गरिएकाहरुमा रामलाल साह, बाबुराम कार्की, सागर थापा, पर्शुराम बस्नेत र महेश भट्टराई रहेका छन् । भने एमालेले उम्मेदवारको रुपमा चर्चामा आएका केन्द्रीयस्तरका नेताको नाम भने सिफारिस गरिएको छैन ।
यसअघि एमालेका केन्द्रीय नेता समेत रहेका पूर्वमन्त्रीहरू लालबाबु पण्डित, जीवन घिमिरेलगायतको नाम पनि चर्चामा थियो ।
सिफारिस गरिएको नाममध्ये थापा एमाले विराटनगरका अध्यक्ष हुन् भने साह केन्द्रीय सदस्य, कार्की जिल्ला उपाध्यक्ष, बस्नेत र भट्टराई प्रदेश सदस्य छन् ।
त्यस्तै एमालेले उपप्रमुखमा शिल्पा कार्की, बिमला घिमिरे दाहाल, अन्जु उपाध्याय (शिला) को नाम सिफारिस गरेको छ । नेता कार्की एमाले महानगरपालिकाकी उपाध्यक्ष हुन भने दाहाल प्रदेश सदस्य र उपाध्याय जिल्ला सदस्य हुन् । एमाले मोरंग जिल्लाले प्रदेशमा पठाएपछि मेयर र उपमेयरको नाम टुंग्याउने बताइएको छ ।
त्यस्तै एमालेले तीन वटा वडाको वडाअध्यक्षसहित सदस्यहरूको नाम टुंगो समेत लगाएको छ ।
विराटनगर १०, ११ र १९ नम्बर वडाको उम्मेदवारी सर्वसम्मतिले टुंग्याएको हो । विराटनगर १० को वडाअध्यक्षमा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेलाई एमालेले वडाअध्यक्षको उम्मेदवारी बनाउने सर्वसम्मतिले टुंगो लगाएको एमाले विराटनगर कमिटीका अध्यक्ष सागर थापाले जानकारी दिए ।
नेता न्यौपाने विराटनगर ११ का निर्वाचित वडाअध्यक्ष हुन् ।