जनकपुर, चैत्र २८

अधिकांश राजनीतिक दलले मधेश प्रदेशको राजधानी जनकपुरधाममा आ–आफ्नो उम्मेदवार टुंगो लगाउन छलफलमै व्यस्त छन् ।

केहीले अहिलेसम्म सम्भावित उम्मेदवारको नाम मात्र सिफारिस गरेका छन् । भने धेरै दलले सम्भावित उम्मेदवारको नाम पनि सिफारिस गर्न भ्याउन सकेका छैनन् । तर जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का आकांक्षी उम्मेदवार रामबाबु साह भने करिब एक सातादेखि घरदैलोमा व्यस्त छन् ।

पूर्व सांसद महेन्द्र यादव मधुकरको घरमा गएर आकांक्षी उम्मेदवार साहले आफ्ना योजना र घोषणापत्र बारे खुलेर बातचित गर्दै भलाकुसारीसमेत गरे ।

आकांक्षी वडाअध्यक्षका उम्मेदवार साहले भने १३ बुँदे चुनावी घोषणापत्र लिएर वडाको प्रत्येक घर घरमा पुगेर आफुलाई जिताउनका लागि मत माग्न थालेका छन् । उनी वडाको ७५ प्रतिशत घरमा पुगेर मत मागि सकेको दाबी समेत गरे ।

मतदातालाई आफ्नो चुनाव चिन्ह र नाम स्मरण गराउन बारम्बार मतदाताको घरदैलोमा पुग्ने योजना बनाएको उनले बताए ।

लामो समयदेखि व्यापार व्यवसाय गर्दै रामबाबुले जनताको आग्रहलाई स्वीकारेर वडाअध्यक्षमा चुनाव लड्न तयार भएको जानकारी दिए । सिके राउत र आफ्नो फोटो राखेर उनले मैथिली भाषामा तयार गरेको घोषणापत्रमा एक घर– एक रोजगार, मतदाताको घर घरमा पुगेर काम गर्ने, वडाभरि नाला, सडक ढलान, सोलार बत्ती जडान लगायत विषयलाई जोड दिएका छन् ।

वडाको प्रत्यके विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने, महिला किशोरीका लागि सिलाई मेसिन वितरण गर्ने, सीपमुलक कार्यक्रमका लागि जनचेतना फैलाउने, एक–एक पाईको हिसाब किताब लिने विषयलाई पनि घोषणापत्रमा प्राथमिकता दिएका छन् ।