जनकपुर, चैत २८
सत्तारुढ गठबन्धनको बैठक सात वटै प्रदेशमा भएपनि मधेश प्रदेशमा भने गठबन्धन दलको बैठक आन्तरिक तयारीका कारण निर्धारित मितिमा नभएपनि मंगलबार बैठक बस्ने भएको छ ।
मधेस प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धनका लागि जनकपुरधाम स्थित नेपाली काँग्रेसको मधेश प्रदेश कार्यालयमा एक साता अघि भएको बैठकबाट आ–अफ्ना दलको अवस्था बारे रिपोर्टिंग गर्ने भनि चैत २७ गतेसम्मका लागि गठबन्धनको बैठक स्थगित भएको थियो ।
सो बैठकबाट २२ गते सम्ममा पालिका–जिल्ला कमिटी पार्टीसँग आ–आफ्नो संगठनको अवस्था बारे बुझेर चैत २७ गते बैठक बस्ने गरि स्थगित भएको थियो । तर गठबन्धन दलको बैठक जिल्ला देखि स्थानीय स्तरसम्म पनि हुन नसकेको छैन ।
मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहालगायतका जिल्लामा गठबन्धनका लागि बैठक भएपनि पर्सा, बारा, रौतहटलगायतका जिल्लामा भने गठबन्धनको बैठक अहिलेसम्म पनि बस्न सकेको थिएन ।
नेपाली काँग्रेस मधेश प्रदेशका उपाध्यक्ष वीरेन्द्रकुमार सिंहले गठबन्धनको बैठक मंगलबार विहान ८ बजे देखि महोत्तरीको बर्दिबासमा बस्ने जानकारी दिए । उनले गठबन्धनका लागि काँग्रेस सकारात्मक रहेको भन्दै अधिकांश पालिका तथा जिल्लास्तरमा पनि गठबन्धनका लागि गृहकार्यहरु भईरहेको प्रतिक्रिया दिए ।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मधेश प्रदेशमा रहेको चार दलीय गठबन्धनको बैठक पहिलो पटक बैठक भएको थियो । मधेश प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासहित पाँच दलीय गठबन्धन छ ।
मधेश प्रदेशमा १३६ वटा पालिका छन् ।