
जनकपुर, चैत्र २८
जनकपुरधाममा विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० शैय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेसन (अमेरिका) सँगको सहकार्यमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्न लागेको फाउन्डेसनका अध्यक्ष डा. विनय शाहले जानकारी दिए ।
उनले नयाँ आगामी वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा सो क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए ।
सो अस्पतालको शिलान्यास नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले गर्ने भएका छन् ।
फाउन्डेसनका अध्यक्ष डा.शाहले यस अस्पतालको निर्माण गरिने भवन अमेरिकाको सान फ्रान्सिस्कोस्थित फोंग एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको भने ।
डा.शाहले भने, ‘पहिलो चरणमा यो अस्पताल एक लाख वर्ग फिटमा सञ्चालन हुनेछ । हामी सन् २०२५ सम्ममा १०० श्ययाको भवन निर्माण गरिसक्ने छौँ ।’
बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । विगतमा, यीमध्ये धेरै बिरामीले क्यान्सरको उपचारका लागि आठ घण्टा वा बढी यात्रा गर्नुपथ्र्यो । यस्तो यात्राका लागि स्रोतसाधन नभएकाले उपचार नै पाउँदैनथ्यो ।
अहिले जनकपुरधाममा बिटिएफसिसी को २५ श्ययाको अस्पताल सञ्चालनमा रहेको छ । जनकपुरधामको कपिलेश्वर सडकमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवामा मेडिकल ओन्कोलोजी, सर्जिकल ओन्कोलोजी, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपत्कालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आइसियु र एनेस्थेसियोलोजी समावेश छन् ।
विनय तारा क्यान्सर ट्रष्ट (बिसिटी) का अध्यक्ष डा.योगेन्द्रप्रसाद सिंहका अनुसार यस क्षेत्रमा स्तरीय क्यान्सर सेन्टर खोल्नाले यस क्षेत्रका मानिसको स्वास्थ्य उपचारमा मात्र मद्दत गर्ने नभई आर्थिक, सामाजिक गुणस्तर र जीवनयापनमा पनि परिवर्तन ल्याउन सक्नेछ । ‘हामी अन्तर्राष्ट्रियस्तरको क्यान्सर उपचारलाई मधेसमा लिएर आउँदैछौँ । यसलाई मधेस परिवर्तनको अभियानका रुपमा हामीले लिएका छौँ । यहाँको अर्थतन्त्र मजबुद हुनेछ, मानिसले रोजगारी पाउनेछन् र स्वास्थ्य सेवाको लागि मधेस बिरामीको गन्तव्यस्थल हुनेछ ।’
विनयतारा क्यान्सर ट्रष्ट एड्भाइजरी कमिटीका अध्यक्ष, प्रसिद्ध चर्मरोग विशेषज्ञ, डा अनिलकुमार झा भन्छन्, ‘विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरको भिजन, मिसन र लक्ष्य भनेको मधेस, सिङ्गो नेपाल र छिमेकी देशका सीमावर्ती क्षेत्रका क्यान्सर रोगीका लागि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्नु हो । हामीलाई थाहा छ, यो अस्पताल निर्माण तथा स्थापनामा धेरै चुनौती छन् तर बिटिसी परिवार यसलाई सम्भव र शतप्रतिशत सफल बनाउनेमा प्रतिबद्ध छौँ ।’
विनयतारा क्यान्सर ट्रस्ट २०७५ गैर नाफामुखी संस्थाका रुपमा स्थापना भएको हो । स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका क्षेत्रमा काम गर्न समर्पित यस ट्रस्टले २०७५ साल मंसिरदेखि विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको जनाइएको छ ।