जनकपुर, चैत २८

धनुषामा पाँच वटा ट्रैक्टरमा अवैध सालको काठ बराम गरेको डिभिजन वन कार्यालय धनुषाले जनाएको छ ।

सोमबार वन कार्यालयले धनुषाको धनुषाधाम नगरपालिका वडा नम्रब ६ स्थित मालटोल खेतबारीमा लुकाई राखेको अवस्थामा पाँच ट्रैक्टर अवैध सालको काठ बरामद गरेको हो ।

वन कार्यालय धनुषाका डिभिजनल प्रमुख सुनिलकुमार कर्णले मालटोलस्थित खेतबारीमा लुकाई राखिएको अवस्थामा पाँच ट्रैक्टर अवैध सालको काठ नियन्त्रणमा लिएको जानकारी दिए । उनले २५५.०९ क्यूफिट काठ बरामद भएको भएको बताए । जसमध्ये १८१ थान गोलिया र चार थान चिरान गरी १८५ थान काठ रहेको समेत उनले बताए ।

डिभिजनल प्रमुख कर्णले वन कार्यालय धनुषाले पहिलो पटक ठूलो मात्रामा अवैध सालको काठ बरामद गरेको दावी समेत गरे । उनले भने, ‘बढीमा २० थानसम्म अवैध काठहरु बरामद भएको जिल्लामा आजभने बढी मात्रामा सालको काठ बरामद गरिएको छ ।

वन कर्मचारी, जनपद प्रहरी, शसस्त्र प्रहरी र स्थानीय सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीको सहयोग काठ नियन्त्रणमा लिन सफल भएको बताउँदै प्रमुख कर्णले बरामद गरिएको काठ सब–डिभिजन वन कार्यालय पुष्पवलपुरमा राखिएको बताए ।

उनले वनबाट काठ कटान गर्नेहरुको पहिचान गर्नका लागि कर्मचारी खटाएको र पहिचान खुलेपछि संलग्नहरुमाथि कानुनी कारवाही गरिने डिभिजनल प्रमुख कर्णले बताए ।