
गठबन्धन आन्तरिक तयारीमै व्यस्त, एमाले गठबन्धन भित्रको असन्तुष्टी खेलाउने मिसन, लोसपाको पालिकाले आवश्यकता अनुसार तालमेल गर्ने निर्णय
जनकपुर, चैत्र २९
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा मधेश प्रदेशमा राजनीतिक दलहरुको सक्रियता ह्वात्तै बढेको छ ।
स्थानीय तहको निर्वाचन केन्द्रित रणनीति बनाउन दलहरु जुटेका छन् ।
सत्तारुढ गठबन्धन दल, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बेग्ला बेग्लै स्थलमा बैठक बसेर निर्वाचन केन्द्रित रणनीति बुनेका छन् ।
सत्तारुढ गठबन्धनको मधेस प्रदेशस्तरीय बैठकले स्थानीय तहको निर्वाचन बारेमा आपसमा तालमेल गर्न गठबन्धन घटकका जिल्ला नेतृत्वसँग पनि छलफल गर्ने निष्कर्षमा पुग्ने निर्णय गरेको हो ।
मंगलबार महोत्तरीको बर्दिबासमा बसेको मधेश प्रदेश गठबन्धनको बैठकले यसबीचमा जिल्ला स्तरीय गठबन्धनबाट पालिका तह अनुसारको छलफल गरी खाका तयार पार्ने निर्णय गरेको छ । यसका लागि वैशाख २ गतेसम्मको समयसीमा निर्धारण गरिएको छ । भने बैठक वैशाख ३ र ४ गतेसम्म चार चार वटा जिल्ला कमिटीका अध्यक्षहरुसँग बैठक बस्ने योजना रहेको जानकारी नेपाली काँग्रेस मधेश प्रदेश समितिका कोषाध्यक्ष प्रदीप यादवले जानकारी दिए ।
मधेस प्रदेशभित्रका आठवटै जिल्लामा गठबन्धन दलको छलफल पछि गठबन्धनको प्रदेश नेतृत्वसँग जिल्लागत रुपमा बैठक राखेर तालमेलको खाका तयार पार्ने निर्णय भएको गठबन्धन घटकका नेताहरुको भनाई छ ।
प्रदेश गठबन्धन नेतृत्वसँग हुने त्यस्तो बैठकमा गठबन्धन घटकबाट जिल्ला सभापति तथा इन्चार्जसहित दुई जना मात्र सहभागी हुनेछ ।
गठबन्धन बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सचिव योगकुमार बरबरियाले पाँच दलको भएको बैठकमा महानगरपालिका र उपमहानरपालिका माथिल्लो स्तरबाटै टुंगो लगाउने जानकारी दिए ।
उनले दलहरु वीचमा अन्तरविरोध वा हिस्सेदारी लेनदेनको कुरा समेत नरहेको स्पष्ट पारे ।
त्यस्तै वैशाख ३ गते काँग्रेस मधेस प्रदेश कार्यालय जनकपुरमा हुने बैठकमा धनुषा र महोत्तरी जिल्लाको सन्दर्भमा बिहान ८ देखि १२ बजेसम्म तथा सिरहा र सप्तरी जिल्लाको सन्दर्भमा दिउँसो २ बजेदेखि छलफल हुने छ ।
त्यस्तै वैशाख ४ गते जसपा मधेस प्रदेश कार्यालयमा बस्ने बैठकमा बिहान ९ देखि १२ बजेसम्म सर्लाही र रौतहट जिल्लाका बारेमा र दिउँसो २ बजेदेखि बस्ने बैठकमा बारा र पर्सा जिल्लाका बारेमा छलफल हुने जनाइएको छ ।
यसै बैठकबाट मधेस प्रदेशस्तरीय गठबन्धन बैठकले केन्द्रीय गठबन्धनका शीर्ष नेताहरुद्वारा जारी संयुक्त विज्ञप्तिलाई स्वागत गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै नेकपा एमालेले पनि चुनाव केन्द्रित बैठकबाट रणनीति तय गर्दै छन् ।
महोत्तरीको बर्दिबास स्थित गौतम होटेलमा भएको बैठकबाट सत्तारुढ गठबन्धन दल भित्र रहेका असन्तुष्टी पक्षलाई समेटेर निर्वाचन केन्द्रित गतिविधि गर्न बैठकमा सहभागी रहेका नेताहरुले प्रदेश समितिका सदस्यहरुलाई निर्देशन दिँदै थिए ।
नेकपा एमालेका नेता रामचन्द्र मण्डलले मधेश प्रदेशको पूर्ण बैठक बसेर स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने जनाएका छन् । लोसपासँग भनिएको गठबन्धन भन्दा पनि स्थानीयस्तरमा गठबन्धन हुन सक्ने उनको भनाई छ ।
बैठकमा एमाले मधेश प्रदेश समितिका सचिव सुमन प्याकुरेलले प्रदेश सदस्यहरुलाई निर्देशन दिँदै गठबन्धन घटक दल भित्र व्यापक असन्तुष्टीहरु रहेकाले यसलाई खेलाउन र आफु तर्फ तान्न भरपुर प्रयास गर्न निर्देशन दिए । उनले गठबन्धन दल भित्रका असन्तुष्टीलाई मध्यनजर गर्दै ति असन्तुष्टीहरुलाई बाहिर ल्याएमा अन्यत्र पनि फाइदा हुने हुनाले सो तर्फ गम्भिरतापूर्व लाग्न भने ।
यता लोकतान्त्रिक समाजावदी पार्टी नेपाल मधेश प्रदेश समितिको बैठक सम्पन्न भएको छ ।
यस बैठकबाट चुनाव केन्द्रित रणनीति, स्थानीय निर्वाचनका लागि आकांक्षी उम्मेदवार छनोट बारे जिल्लागत रिपोर्ट, सो रिपोर्टसहित आएका विभिन्न कुराहरु केन्द्रिय समितिमा पेस गर्ने र विभिन्न स्थानीय तहमा हुन सक्ने तालमेल वा गठबन्धनलगाय बारेमा निर्णय भएको लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए ।