जनकपुर, चैत्र २९
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा धनुषाको चार वटा पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पालिका मेयर÷अध्यक्षको छनोट सिफारिस प्रक्रिया अगाडी बढाइएको छ ।
धनुषाको नगराइन नगरपालिका, धनौजी गाउँपालिका, औरही गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकामा मेयर÷अध्यक्ष पदका उम्मेदवारहरुको नाम नगर स्तरीय कमिटीबाट सिफारिस गर्दै जिल्ला कमिटीमा पठाएको छ ।
लोसपा नेपाल धनुषाका अध्यक्ष परमेश्वर साहले धनुषाको चार वटा पालिकाको वडा तथा पालिकास्तरीय बैठकबाट उम्मेदवारको नाम छनोट गरि जिल्ला कमिटी पार्टीमा सिफारिस गरिएका आकांक्षी उम्मेदवारहरुको नाम आउने क्रम जारी रहेको जानकारी दिए ।
नगराईन नगरपालिकामा राजु चौधरीको एकल नाम मेयर पदका लागि सिफरिस गरिएको छ भने धनौजी गाउँपालिकाको अध्यक्ष पदका लागि जिवेन्द्र झा, औरही गाउँपालिकाको अध्यक्षका लाग प्रमोदकुमार यादवको एकल नाम सिफारिस गरिएको उनले बताए ।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका आकांक्षी भने पाँच जना रहेका छन् ।
जनकपुरधाम उपमहानगरका लागि मधेश प्रदेशका प्रदेश सांसद परमेश्वर साह, मनोजकुमार चौधरी, संजय चौधरी, जानकीराम साह र अमर पँजियारको नाम जिल्ला कमिटीमा सिफारिस गरि पालिका कमिटी पार्टीले पठाएको उनले बताए ।
त्यस्तै नगराईन नगरपालिका वडा नम्बर २ मा काँग्रेसबाट नगराईन नगरपालिकाको मेयर परमेश्वर यादवका ज्वाई बुलन यादवले लोसपा नेपालबाट उम्मेदवारी दिने भएका छन् ।
लोसपा धनुषाका जिल्ला सदस्य समेत रहेका पर्यवेक्षक रोहित चौधरीले दिएको जानकारी अनुसार नगराईन नगरपालिका वडा नम्बर २ को वडाअध्यक्ष पदमा बुलन यादवको एकल नाम सिफारिस भएकाले उनको उम्मेदवारी पक्का रहेको बताए ।
एमालेले बटेश्वर गाउँपालिकामा उम्मेदवार दोहोर्याउने, लक्ष्मीनिया गाउँपालिकाका लागि तीन आकांक्षी उम्मेदवार
धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतलाई नै दोहोर्याउने भएका छन् ।
पालिका कमिटी बैठकबाट बटेश्वर गाउँपालिका अध्यक्ष पदमा पुनः राउतलाई नै दोहोर्याउने भन्दै जिल्ला कमिटीमा उनको नाम सिफारिस गरिएको जनाइएको छ ।
त्यस्तै लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेको पालिका कमिटीले तीन जनाको नाम सिफारिस गरिएको छ ।
लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष पदका लागि शम्भु साह, अजय यादव र दिनेश यादवको नाम जिल्ला कमिटी पार्टीमा सिफारिस गरिएको जनाइएको छ ।
यी तीन मध्ये एक जनाले गाउँपालिकाको अध्यक्ष पदका लागि टिकट पाउने छन् ।