
जनकपुर, चैत्र २९
धनुषाको हँसपुर नगरपालिकाकी उपप्रमुख रेणु झा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेकी छन् ।
मंगलबार उपप्रमुख झालाई जसपा नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको हातबाट टिकाटालो लगाई पार्टीमा स्वागत गर्दै प्रवेश गराएकी हुन् ।
उपप्रमुख झा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएकी छन् । जसपा नेपाल विभाजन हुँदा उनले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेकी थिइन् ।
तत्कालिन राजपा नेपालबाटै निर्वाचित भएका हंँसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डलसँग लामो समयदेखि असन्तुष्टी रहँदै आएकी उपप्रमुख झाले स्थानीय तहको निर्वाचन आउँदा पनि लोसपाले बेवास्ता गर्दै आएपछि जसपा नेपाल रोजेकी बताइन् ।
नगरप्रमुख मण्डल र उपमेयर झा वीच लामो समय देखि रहेको भएको विवादका कारण बोलचाल समेत छैन ।
लोसपा नेपालले प्रमुख मण्डललाई नै हँसपुर नगरपालिकाका लागि पुनः दोहोर्याउने सुइको पाएपछि नगर उपप्रमुख झाले जसपाका अध्यक्ष यादवलाई भेटेर पार्टी प्रवेश गरेकी हुन् ।
उनीसँगै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जगरनाथ साह पनि जसपामा प्रवेश गरे ।