सिरहा, चैत्र ३०
सिरहा नगरपालिकामा हालसम्म गठबन्धन बनाउने विषयमा अहिलेसम्म पनि अन्योल नै छ । गठबन्धनमा रहेका तथा गठबन्धन बाहिर रहेका दलहरु चुनावको छुट्टा छुट्टै तयारी थलिसकेका छन् ।
नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र नेकपा एमालेको बीचमा प्रतिस्पर्धा हुने देखिन्छ । यसअघि २०७४ को स्थानीय चुनावमा पनि यी तीन दलको बीचमा नै प्रतिस्पर्धा थियो । जसमा जसपा नेपाल (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) ले बाजी मारेको थियो । जसपाबाट अशेश्वर यादवले चुनाव जितेकोमा एमाले दोस्रो, काँग्रेस तेस्रो र माओवादी केन्द्र चौथो स्थानमा थिए ।
जसपाका मेयर यादवले ९२३४ मत ल्याएर विजयी भएका थिए भने एमालेका नविन यादवले ९०६३ मत ल्याएका थिए । यादव एमालेका पुरानो नेता हेमनारायण यादवका छोरा हुन् । हेमनारायण यादवको हत्या भएको छ । त्यस्तै, काँग्रेसका डा.सुवास यादवले ८२६२ मत ल्याएर तेस्रो स्थान ल्याएका थिए । काँग्रेस नेतृ सीता देवी यादवका छोरा हुन् । यी तीनै पार्टीको खासै मतान्तर थिएन । माओवादी केन्द्रका महेश यादवले १५०३ मत मत ल्याउनुले यसको जनाधार देखिएन । सिरहा नगरपालिकाको २२ वडामध्ये ९ वटा काँग्रेसले जितेको छ भने ७ वडा एमाले, ६ वटा वडा जसपाले जितेको छ ।
सिरहा नगरपालिका लागि मेयरमा यसपटक काँग्रेसले संजय यादवको नाम सिफारिस गरेको छ । सिरहामा पार्टीको समानान्तर कमिटी रहेको छ । अर्को पक्षले उपेन्द्र यादवको नाम पनि सिफारिस गरेको छ । विधि सम्मत संजय यादवको नाम गएको कारण उनको नाममा सहमति हुने सम्भावना अधिक रहेको पार्टी नेता डा.सुवास यादवले बताए ।
सिरहा नगरपालिका लागि गठबन्धनको कुनै सम्भावना नरहेको काँग्रेस नेता सुवास यादव बताउँछन् । आफूहरु एक्लै चुनाव लड्ने तयारीमा लागेको बताउँदै यहाँ गठबन्धनको विषयमा कुनै चर्चा नरहेको उनको जिकिर छ । उनले यसपटक काँग्रेसको अवस्था निकै सुध्रिएकाले विजयी सुनिश्चित रहेको बताए ।
अघिल्लो पटक पनि चुनाव लडेका एमालेबाट मेयरको एकल उम्मेदवार डा.नविन यादवले गठबन्धन बनेपनि आफूले चुनाव जित्ने बताए । उनले भने, ‘एमालेमा तलदेखि माथि कुनै विवाद छैन । जबकि काँग्रेसको यहाँ समानान्तर कमिटी चलिरहेको छ । तीन, चारजना उम्मेदवारको नाम आइरहेको छ । त्यस्तै, जसपामा देखिएको विवादको फाइदा पनि एमालेलाई हुने निश्चित छ ।’
एमाले पार्टी विभाजन भए पनि सिरहा नगरपालिकामा कुनै असर नपरेको दावी गर्दै नेता नविन यादवले नेकपा एसको सबै मत आफूलाई आउने दावी गरे । यस अघिको चुनावमा उनी १७१ मतले मात्र हारेको थिए । पार्टीभित्रबाट नै अन्तरघात भएको कारण त्यतिबेला आफूले चुनाव हारेको उनले बताए । पेशाले चिकित्सक नेता नविनले आफू जित्नेमध्येको सबैभन्दा महत्वपूर्ण फ्याक्टर भनेको पार्टीमा आफ्नो परिवारको लगानी रहेको धारणा राख्छन् । ‘पार्टीकै काममा रहेको बेला बुवाको हत्या भयो, शोकलाई शक्तिमा बदल्दै जनताको सेवा गर्न कहिल्यै पछि परिनँ,’ उनले भने ।
सिरहा जिल्लामा जसपामा दुईटा समानान्तर कमिटी चलिरहेको छ । एउटाको नेतृत्व विजय यादवले अनि अर्कोको नेतृत्व राजकिशोर यादवले गरिरहेका छन् । त्यसको असर सिरहा नगरपालिकासम्म पुगेको छ । अहिलेसम्म जसपाबाट को उम्मेदवार हुने निश्चित भएको छैन । राजकिशोर यादवको आर्शीवाद पाएका वर्तमान मेयर अशेश्वर यादव आफूले पुनः टिकट पाउनुपर्ने अडानमा छन् । उता, विजय यादवको तर्फबाट मेयरमा जगतलाल यादवले दावी गरेका छन् । उनले औपचारिक रुपमै मेयरको उम्मेदवारी घोषणा गरिसकेका छन् । तर अहिलेसम्म पार्टीले कसैको नाम सिफारिस गरेको छैन ।
यता माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावी गठबन्धन गर्ने तयारीमा छन् । माओवादी केन्द्रका नेता एवं मेयरका आकाँक्षी महेश यादवले मेयर नेकपा (एस) लाई र उपमेयर माओवादी केन्द्रले राख्ने गरी छलफल भइरहेको बताए । उनले पाँचदलीय गठबन्धनको विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताए । सबै दल आआफ्नो तरिकाले अगाडि बढेपछि आफूहरु पनि नेकपा (एस) सँग गठबन्धन बनाएर चुनावमा जाने तयारीमा लागेको यादवले स्पष्ट पारे ।