बारा, वैशाख १

बारामा एक यूवक भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।

बुधबार मध्यराति बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित डकाहा टोलका २८ वर्षीय सागर सिंजाली मगरको मृत्यु भएको हो ।

डकाहा टोल स्थित दुधौरा खोलामा माछा मारेर फर्कने क्रममा उनलाई गोली लागेको थियो । खोलामै रहेको सिरु घारीमा जंगली जनवारको शिकारको लागि थापेको भरुवा बन्दुकको पासोमा परेपछि बन्दुक पड्किएको प्रारम्भिक सूचना प्रहरीले पाएको छ ।

गोली लागेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा मृत्यु भएको थियो ।

बारा प्रहरीले घटनास्थलबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ भने थप अनुसन्धानको कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।