जनकपुर, वैशाख ३

स्थानीय तह निर्वाचनको यही वैशाख ३० गते हुने भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारको रुपमा अघि सार्दै पालिकाको प्रमुख पदमा दावेदारी प्रस्तुत सहित घोषणा गर्ने क्रम जारी रहेको छ । यस पालिकामा ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मनोजकुमार यादव मुखियापट्टी मुसहरनीया गाउँपालिकामा निर्वाचित छन् । यस क्षेत्रमा नेकपा एकीकृत समाजवादीले दावी गर्दै आएका छन् । तर काँग्रेसले भने दावी प्रस्तुत गरेका छन् ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकामा यसपटकको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारको जित सुनिश्चित रहेको दाबी गर्दै काँग्रेस मुखियापट्टी मुसहरनीया गाउँपालिका समितिको सभापति विश्वनाथ यादवले पालिकाको अध्यक्ष पदका लागि दावी गर्दै काँग्रेसको जित सुनिश्चित रहेको बताए ।

उनले कांग्रेसबाट तिनजनाको दावेदारी रहेपनि पार्टीले अन्तोगत्वा आफूलाई नै टिकट दिने विश्वाससमेत व्यक्त गरेका छन् ।

यादवले गाउँपालिका अध्यक्षका लागि आफूलगायत पार्टीका अन्य नेताहरु रामबाबु यादव, सुरेन्द्रप्रसाद चौधरी ‘मुन्ना’ र प्रमोद यादवले समेत दावेदारी गरिरहँदा पार्टीभित्र आफ्नो योगदान र मूल्यांकनको कदर गरिने विश्वास व्यक्त गरे । उनले आफूले टिकट पाए आफ्नो जित सुनिश्चित रहेको र जित सुनिश्चित भएकैले आफू उम्मेदवार बन्ने बताए ।

‘जनताले पहिल्यैदेखि विश्वनाथ आउनुपर्थ्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् । मैले बल्ल बुझ्दै छु,’ उनले भने । विकासको प्रचुर सम्भावना भएकाले एउटा नयाँ मोडेल प्रस्तुत गर्न आफू उम्मेदवार बन्न लागेको यादवको भनाइ थियो । उनले भने, ‘मेरो प्रतिस्पर्धी यहाँ कोही छैनन् ।’

आफूले मुखियापट्टी मुसहरनीया गाउँपालिकाका लागि गरेको योगदानको जनताले अवश्य मूल्यांकन गर्ने भन्दै उनले अब यहाँ विकास र समृद्धिको यात्रा सुरु हुने बताए । ‘यहीँको जनताले मलाई नेता बनाएको हो, त्यो ऋण तिर्ने मेरो जिम्मेवारी छ,’ यादवले भने ।

यादवले मुखियापट्टीको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहने दाबी गरे ।

उनले पार्टीभित्र आफ्नो कार्यक्षमताको मूल्यांकन भई पार्टीले टिकट आफूले नै दिने विश्वास व्यक्त गरेका छन् । उनले स्थानीय जनताको साथ, समर्थन र सहयोग प्राप्त भए आफूले आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने योजना रहेको सुनाए ।