गठबन्धन नगर्न काँग्रेस भित्र नेतृत्वलाई दवाव

जनकपुर, वैशाख २

अहिले स्थानीय तह निर्वाचनमा मुलुक केन्द्रित छ । गठबन्धन गरेर निर्वाचन गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु बीच रस्सकाकस्सी चलिरहेको छ । सत्ता बाहिर रहेका नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल कतिपय पालिकामा उम्मेदवारी सिफारिश समेत गरि सकेको अवस्था छ । तर केन्द्रबाट कुनै पनि दलले भने उम्मेदवारहरुको निक्र्यौल गर्न सकेको अवस्था छैन ।

उम्मेदवार छनोटमा व्यस्त रहेका राजनीतिक दलहरु भने सबैभन्दा बढी मधेश प्रदेशमा केन्द्रित छन् ।

राष्ट्रिय दलको रुपमा रहेको नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको आधार भूमि कुनै न कुनै रुपमा मधेश प्रदेश नै रहँदै आएको छ । देशको सबैभन्दा पुरानो राजनीति इतिहास बोकेको नेपाली काँग्रेसका लागि यो क्षेत्र गढकै रुपमा रहँदै आएको थियो । तर पछिल्लो स्थानीय तह निर्वाचनको परिणाम अनुसार देशै भरीको अवस्थालाई आधार मान्ने हो एमालेभन्दा कमजोर अवस्थामा काँग्रेस पुगेको थियो । तर कुनै समय काँग्रेसका लागि एकल भोट बैंकको रुपमा रहँदै आएको काँग्रेसलाई भने मधेश प्रदेशले प्रदेशमा पहिलो दल बनायो ।

मधेश प्रदेशमा काँग्रेसको दायरा खुम्चिँदै गईरहेकोमा काँग्रेसको नेतृत्व वर्ग नयाँ रणनीतिका बनाउने दाउमा छन् ।

त्यसका साथै अन्य दलहरु समेत कमजोर अवस्थामा पुग्दा आश्रय खोज्न मधेशको समथर भूमिमै झर्छन् । त्यसैले होला एमाले र माओवादीले मधेश प्रदेशमा आफ्नो गतिविधिलाई तीव्र पारेको छ । मधेश केन्द्रित दलमा लागेर मधेश आन्दोलनमा लागेका कतिपय युवाहरु अहिले एमालेमा लागेपछि मधेश प्रदेशमा एमाले हौसिएको छ ।

काँग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्णप्रसाद यादवले गत स्थानीय तह निर्वाचन परिणाम काँग्रेसका लागि सन्तोष गर्न सक्ने अवस्था नभएपनि मधेशमा काँग्रेस कमजोर नरहेको दावी गरे ।

उनले कांग्रेस अहिले पनि मधेश प्रदेशमा पहिलो स्थानमै छ र वैशाख ३०को निर्वाचनपछि अहिलेको स्थितिभन्दा झनै राम्रो स्थितिमा आउने छ ।

यता माओवादी केन्द्रले पछिल्लो निर्र्वाचनभन्दा बढी स्थानीय तहमा राम्रो नतिजा ल्यााउने माओवादीका मधेश प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकीको दावी छ । उनले भने ‘जनताले विकास चाहेको छ, माओवादीले जितेको स्थानीय तहमा विकासको लहर आएको कुरो जनताले मूल्यांकन गर्छन् ।’

नेकपा विभाजनपछि पुनः उदय भएको माओवादी केन्द्र कमजोर स्थितिमा पुगेको कुरो स्वीकार भने उनले गरेनन्, अध्यक्ष बुढाथोकी भन्छन्, ‘बरु हामी पहिलेभन्दा झनै मजबुत स्थितिमा छौँ ।’

मधेस प्रदेशमा गठबन्धनलाई लिएर काँग्रेसमा विवाद

स्थानिय तहको निर्वाचनमा गठबन्धनमा बाँडफाँडको विषयलाई लिएर दलहरुलाई सकस भएको छ ।

सत्तारुढ गठबन्धन भित्रै देखिएको विवादका कारण नेपाली काँग्रेस अलमलमा परेको हो ।

कांग्रेसले पर्साको विरगंज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिका सहितका अधिकांश पालिकामा दावी गरेपछि गठबन्धन गर्न समस्या उत्पन्न भएको छ ।

नेपाली कांग्रेसले पर्सा जिल्लामा गठबन्धन नगर्ने भन्दै एक प्रेस विज्ञप्ति नै जारी गरिसकेको छ । त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिकामा काँग्रेस एक्लै लड्ने जनाएको छ ।

काँग्रेसले विरगंज महानगरपालिकासहित अन्यपालिकामा पनि दावी गर्दै आईरहेको छ । पाँचदलिय गठबन्धनमा रहेका जनता समाजवादी पार्टी नेपालले सो स्थान जितेको छ । तर मेयर विजय सरावगी भने अहिले नेकपा एमालेमा गएपछि सो स्थानमा काग्रेसले दावी गरेका छन् । त्यस्तै तत्कालिन राजपा नेपालबाट निर्वाचित जनकपुर उपमहानगरपालिकाका मेयरमा लालकिशोर साह जसपा छन् । राजपाको मुल नेतृत्वकर्ता महन्त ठाकुरको नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीलाई छाडेर मेयर लालकिशोर साह जसपामा छन् ।

तर काँग्रेसले भने जनकपुर उपमहानगरपालिकापनि दावी गर्न थालेपछि गठबन्धनमा काँग्रेस हौसिएका छन् ।

पर्सामा अधिकांश काँग्रेसी नेताहरु गठबन्धनको विपक्षमा छन् । काँग्रेस वीरगञ्ज महानगरपालिका समिति सभापति मनिन्द्रलाल श्रेष्ठ (नेपाली), क्षेत्र नम्बर १ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेश सभा क्षेत्र नम्बर १ को र २ को (क) र (ख ) का क्षेत्रीय सभापतिहरुले गठबन्धन अस्वीकार गरिसकेका छन् ।

काँग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापति गुप्ताले कांग्रेस बलियो पार्टी भएकोले पर्सामा गठबन्धनको आवश्यकता नै रहेको बताए ।

काँग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गठबन्धन प्रतिगामी पार्टीको विरुद्धमा रहेकाले मधेश प्रदेशमा प्रतिगामी एमाले निकै कमजोर रहेकाले यहाँ गठबन्धनको आवश्यकता नरहेको स्पष्ट पारेका छन् ।

उनले अहिले निर्वाचनमा गठबन्धन दल बिचमा नै प्रतिस्पर्धा हुने भएपछि गठबन्धनको औचित्य नै नरहेको दावी गरे । उनले भने, ‘एमाले र लोसपा मधेस प्रदेशका निकै कमजोर छ, यस्तो अवस्थामा मधेसमा गठबन्धन दलहरु बीचमा नै प्रतिस्पर्धा हुुने भएपछि गठबन्धनको औचित्य छैन ।’

मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा जसपा र काँग्रेसले सुरु देखि नै दावी गर्दै आएका छन् ।

मधेस केन्द्रित दलहरु विभाजित भएपछि मधेशमा सबै भन्दा बढी फाइदा काँग्रेसले पाउने भएपछि यस प्रदेशमा काँग्रसीजनहरु गठबन्नधको विरोधमा छन् ।

काँग्रेस जनकपुरधाम उपमहानगर समितिका नगर सभापति मनोज साहले जनकपुरधाम गठबन्धनको औचित्य नरहेको दावी गरे । उनले पहिला भन्दा अहिले जसपा निकै कमजोर अवस्थामा रहेकाले जनकपुरधाममा गठबन्धनको आवश्यकता रहेको बताए ।

उनले भने, ‘राजपाबाट निर्वाचित भएका मेयरले एउटा पनि आप्mनो वडा अध्यक्षलाई ल्याउन सकेको छैन, कुनैपनि वडामा बलियो संगठन छैन, अनि किन गठबन्धन गर्ने ?’ नगर सभापति साहले अघि थप्दैँ भने, ‘जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनको औचित्य छैन ।’

काँग्रेस धनुषाका जिल्ला सभापति योगेन्द्र पजियारले अधिकांश पालिकामा काँग्रेस एक्लैले जित्ने अवस्था रहेको बताउँदै उनले भने, ‘जनताको झुकाव फेरीपनि कांग्रेस पार्टी तर्फ नै देखिएकाले गठबन्धन चाहिँदैन ।’

१३६ स्थानीय तह रहेको मधेस प्रदेशमा काँग्रेसले पालिकाको प्रमुखमा जम्मा ४० पालिका र उपप्रमुखमा भने ३८ पालिकामा निर्वाचित छन् ।

वडातर्फ २९५ ठाउँमा निर्वाचित काँग्रेस प्रमुखपदमा निर्वाचित छन् । उपप्रमुख÷उपाध्यक्षतर्फ करिब २८ प्रतिशतको हैसितमा रहेको कांग्रेसले वडा तहमा त्यस भन्दा कम अर्थात २३ प्रतिशतमा सीमित छ ।

मधेस प्रदेसमा दोस्रो दलको हैसियत तत्कालीन संघीय समाजवादी फोरमले पाएको थियो । पछि समय नयाँ शक्ति, राष्ट्रिय जनता पार्टी नेपालसँग पार्टी एकता गरि जनता समाजवादी पार्टी नेपाल भएको छ । मधेसमा तेस्रो दलको हैसियतमा तात्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्राप्त गरेको थियो । राजपाले २५ स्थानीय तहमा प्रमुख पद जितेको थियो । भने अहिले सो दल लोसपाको नाममा परिणत भएको छ ।

केन्द्रमा तेस्रो बनेको नेकपा माओवादी केन्द्र मधेसमा भने अघिल्लो स्थानीय तह निर्वाचनका आधारमा चौथो स्थानमा छ ।

निर्वाचन आयोगको तथ्यांक अनुसार माओवादीले २१ स्थानीय तहमा प्रमुख जितेको छ । १८ स्थानीय तहमा प्रमुख जितेको नेकपा (एमाले) मधेसमा पाँचौँ दलको स्थानमा छ भने त्यसपछि नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्ति पार्टीले १ स्थानीय तहमा २०७४ को निर्वाचनमा प्रमुख पद जितेका छन् ।

काँग्रेसका सहमहामन्त्री महेन्द्र राय यादवले गठबन्धन आवश्यक रहेको र १० गते सम्म गठबन्धन हुने बताउँदै गठबन्धनको मोडेल बारे छलफल भईरहेको बताए । उनले काँग्रेसले निर्णय गरिसकेको बताउँदै गठबन्धनका विषयमा कुनै विवाद नरहेको स्पष्ट पारे । उनले ओलीलाई शुन्यमा झार्ने आफुहरुको योजना रहेको कारण गठबन्धन विना सम्भव नरहेको बताए ।

पछिल्लो परिणामको आधारमा दलिय स्थिति

मधेश प्रदेश धेरै स्थानीय तह भएको प्रदेशको मामिलामा दोस्रो नम्बरमा छ । प्रदेश १पछि सबैभन्दा धेरै स्थानीय तह मधेश प्रदेशमै छ । १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कुल १ सय ३६ वटा स्थानीय तह मधेस प्रदेशमा छ । १ सय ३६ वटै पालिका गरी मधेश प्रदेशमा कुल १हजार २सय ७१ वडा रहेका छन् ।

मधेश प्रदेशमा नेपाली कांग्रेस पछिल्लो स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी ४० स्थानीय तहको प्रमुखमा विजयी भएको थियो भने ३ सय ३८ वडामा जीत हाशिल गरेको थियो । त्यस्तै तत्कालिन संघिय समाजवादी फोरमले २६ स्थानीय तह र १ सय ९१ वडामा विजयी भएको थियो । तत्कालिन राजपा २५ स्थानीय तह र १ सय ९४ वडा, एमाले १८ स्थानीय तह र २ सय ३० वडा र माओवादी केन्द्र २१ स्थानीय तह र २ सय ३१ वडामा विजयी भएको थियो ।

धनुषा ः मधेस प्रदेशको राजधानी रहेको धनुषा जिल्लामा १ उपमहानगरपालिका, ११ नगरपालिका तथा ६ वटा गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । धनुषा जिल्लामा १८ वटै पालिकामा गरी कुल १ सय ६९ वडाहरु छन् । यी १८ स्थानीय तहमा १६९ वडा रहेका छन् । धनुषामा नेपाली कांग्रेसले औरही गाउपालिका, कमला नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकनन्दनी गाउपालिका, धनुषाधाम नगरपालिका, धनौजी गाउँपालिका, नगराइन नगरपालिका र सबैला नगरपलिकामा प्रमुख पदमा जित निकालेको थियो ।

त्यस्तै एमालेले मिथिला नगरपालिका, मिथिलाविहारी नगरपालिका, बटेश्वर गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जित निकालेको थियो । तत्कालिन राजपाले जनकपुरधाम उपमहानगरपालिका र हँसपुर नगरपालिका तथा तत्कालिन संघिय समाजवादी फोरमले गणेशमान चारनाथ नगरपालिका र लक्ष्मिनिया गाउँपालिकामा जीत निकालेको थियो । माओवादी केन्द्र शहीदनगर नगरपालिका र विदेह नगरपालिकामा जित हाशिल गरेको थियो ।

महोत्तरी ः महोत्तरी जिल्लामा कुल १५ स्थानीय तह छन् जसामा १० नरपालिका र ५ गाउँपालिकाहरु छन् । यस जिल्लामा कुल १ सय ३८ वडा रहेको छ । महोत्तरीमा कांग्रेसले औरही नगरपालिका, बलवा नगरपालिका र लोहारपट्टी नगरपालिका, तत्कालिन राजपाले एकडारा गाउँपालिका, जलेश्वर नगरपालिका, भंगहा नगरपालिका, मटिहानी नगरपालिका, मनरासिस्वा नगरपालिका र महोत्तरी गाउँपालिका, तत्कालिन संघिय समानवादी फोरमले सोनमा गाउँपालिकामा जित निकालेको थियो ।

माओवादी केन्द्रले गौशाला नगरपालिका, बर्दिवास नगरपालिका, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकामा जीत निकाल्न सफल भएको थियो । पिपरा गाउँपालिकामा तत्कालिन राजपाबाट विजयी भएका विनोद चौधरीको मृत्युपछि त्यहाँ उपनिर्वाचन हुँदा एमालेले जीत निकालेको थियो ।

सप्तरी ः मधेस प्रदेशको पूर्वी सीमामा रहेको सप्तरीमा कुल १८ स्थानीय तहहरु रहेका छन् । जहाँ ९ नगरपालिका र ९ गाउँपालिकाहरु छन् । कुल १८ पालिका रहेको सप्तरीमा १ सय ६४ वडा रहेको छ ।

सप्तरीमा कांग्रेसले अग्नीसाइर गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, विष्णुपुर गाउँपालिका, शम्भुनाथ नगरपालिका, सुरुंगा नगरपालिका र विष्णुपुर गाउँपालिकामा जित निकालेको थियो । त्यस्तै एमालेले कञ्चनरुप नगरपालिका र सप्तकोशी नगरपालिका, तत्कालिन राजपाले डाक्नेश्वरी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका, रुपनी गाउँपालिका र हनुमाननगर कंकालिनी गाउँपालिकामा जीत हाशिल गर्न सफल भएको थियो ।

तत्कालिन संघिय समाजवादी फोरमले खडक नगरपालिका, तिरहुत गाउँपालिका, बोदे बर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकामा विजयी भएको थियो । एक स्थानीय तहमा तत्कालिन नयाँ शक्ति पार्टीले जित निकालेको थियो । मओवादी केन्द्र भने एक स्थानीय तहमा पनि जित्न सकेको थिएन ।

सिरहा ः सिराहा जिल्लामा ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ पालिका छन् । जिल्लाका १७ पालिकामा १ सय ६४ वडा रहेका छन् ।

सिरहामा कांग्रेसले कल्याणपुर नगरपालिका, नवराजपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, एमालेले नरहा गाउँपालिका, लहान नगरपालिका र सुखीपुर नगरपालिकामा जीत हाशिल गरेको थियो ।

माओवादी केन्द्रले अर्नमा गाउँपालिका, औरही गाउँपालिका, कर्जन्हा नगरपलिका, गोलबजार नगरपालिका, धनगढीमाई नगरपालिका र मिर्चैया नगरपालिका, तत्कालिन संघिय समाजवादी फोरमले बरियारपट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, विष्णुपुर गाउँपालिका र सिरहा नगरपालिकामा प्रमुख पदमा विजयी भएको थियो । सिरहामा तत्कालिन राजपाको खातासम्म खुल्न सकेको थिएन ।

सर्लाही ः मधेश प्रदेशमा सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला हो सर्लाही हो । यहाँ ११ नगरपालिका र ९ गाउँपालिका सहित २० स्थानीय तह छन् । सर्लाहीमा २ सय वडा रहेको छ । सर्लाहीमा कांग्रेसले धनकौल गाउपालिका, बसबरिया गाउँपालिका, मलंगवा नगरपालिका, रामनगर गाउँपालिका, हरिपूर्वा नगरपालिका, एमालेले इश्वरपुर नगरपालिका, लालबन्दी नगरपालिका, हरिपुर नगरपालिका र हरिवन नगरपालिका, माओवादी केन्द्रले चकरघट्टा गाउँपालिका, बरहथवा नगरपालिका र बाग्मति नगरपालिकामा जीत हाशिल गरेको थियो । तत्कालिन राजपाले कविलाशी नगरपालिका, कौडेना गाउँपालिका, चन्द्रपुर नगरपालिका, बलरा नगरपालिका र ब्रह्मपुरी गाउँपालिका, तत्कालिन संघिय समाजवादी फोरमले एक मात्र स्थानीय तह पर्सा गाउँपालिकामा विजयी भएको थियो ।

रौतहट ः १६ नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीय तह रहेको रौतहटमा १ सय ५७ वडा छन् । रौतहटमा कांग्रेसले गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, दुर्गाभगवती गाउँपालिका, परोहा नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका, राजपुर नगरपालिका, राजदेवी नगरपालिका, माओवादी केन्द्रले कटहरिया नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिका, राजपाले गुजरा नगरपालिका र गौर नगरपालिकामा जीत निकालेको थियो ।

तत्कालिन फोरमले गरुडा नगरपालिका, देवाही गोनाही नगरपालिका, बौधीमाई नगरपालिका, माधवनारायण नगरपालिकामा विजयी भएको थियो ।

बारा ः २ उपमहानगरपालिका, ५ नगरपालिका र ९ गाउँपालिका गरी १५ स्थानीय तहहरु छन् । बारामा कुल १ सय ६७ वडा रहेको छ । बारा जिल्लामा कांग्रेसले कलैया उपमहानगरपालिका, करैया गाउँपालिका, निजगढ नगरपालिका, बारागढी गाउपालिका, महागढीमाई नगरपालिका र सिमरौनगढ नगरपालिका, एमालेले कोल्हवी नगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिका, राजपाले देवताल गाउँपालिका, परवानीपुर गाउँपालिका र प्रसौनी गाउँपालिकाको प्रमुखमा जितेको थियो ।

तत्कालिन फोरमले आदर्श कोटवाल गाउँपालिका, पचरौता गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिकामा जित हाशिल गरेको थियो ।

पर्सा ः मधेसमा एक मात्र महानगरपालिका पर्सा जिल्लामा पर्छ । पर्सामा एक महानगरपालिका, ३ नरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह छन् । पर्सामा १ सय १२ वडा रहेको छ । पर्सामा कांग्रेसले धोविनी गाउँपालिका, पर्सागढी नगरपालिका, एमालेले जिराभवानी गाउँपालिका, पटेर्वा सुगौनी, बहादुरमाई गाउँपालिका, माओवादी केन्द्रले छिपहरमाई गाउँपालिका, जगरनाथपुर गाउँपालिका र ठोरी गाउँपालिकामा जीतेको थियो ।

त्यस्तै तत्कालिन संघिय समाजवादी फोरमले पकहामैनपुर गाउँपालिका, विन्दवासिनी गाउँपालिका, विरगंज महानगरपालिका, सखुवाप्रसौनी गाउँपालिकाको प्रमुखमा विजयी भएको थियो ।