सर्लाही, वैशाख ३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारमा रहेका उपेन्द्र यादवप्रति लक्षित गर्दै लाज मानेर भएपनि सरकारमा बसेको भन्दै व्यंग्य गरेका छन् ।

शनिबार मलंगवामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै वर्तमान गठबन्धनमा रहेका मधेशी जनताका मसिहा भनाउँदाले लाज मानेर सरकारमा बसेको व्यंग गरे । उनल सरकारमा लाज मानेर बस्ने भन्दा छोडेर निस्किनु पर्दैन भन्दै प्रश्न समेत गरे ।

उनले आफू नेतृत्वको सरकारले मधेशी जनताको नागरिकताको समस्या समाधान गर्नका निम्ति अध्यादेश ल्याएर समाधान गर्न खोजेको जिकिर गरे ।

उनले संसदमा काम गर्न नदिँदा पनि, अवरोध गर्दा पनि संविधान अनुसार अध्यादेशबाटै मधेशी जनताले भोगिरहेको नागरिकता समस्याको समाधान गर्न खोजेको दावी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नै नेतृत्वको सरकारले रेल किनेर ल्याएपछि अहिले सञ्चालन भएको दावी गरे ।

यस कार्यक्रममा सर्लाहीको कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवसहित विभिन्न स्थानीय तहका १८ जना वडाअध्यक्ष एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई अध्यक्ष ओलीले फुलको मालासहित लगाएर स्वागत गर्दै पार्टी भित्र्याए ।