वीरगञ्ज, वैशाख ४

नेकपा माओवादी केन्द्र वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीमाथि जिल्ला कमिटीले गरेको कारबाही लागू नहुने भएको छ ।

माओवादीको पर्सा जिल्ला पार्टी कार्यालय तोडफोड गरेको आरोप लगाउँदै ३० चैतमा माओवादीको पर्सा जिल्ला समितिले अन्सारीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।

तर माओवादी केन्द्र मधेश प्रदेश समितिका इन्चार्ज गणेश साहले जिल्ला समितिको निर्णयको प्रक्रिया गलत भएकाले नेता अन्सारीमाथि गरिएको कारवाही लागू नहुने बताए ।

माओवादीको विधान अनुसार जिल्ला समितिले कारबाहीको सिफारिस मात्रै गर्न सक्ने र प्रदेश समितिले त्यसबारे निर्णय गर्न सक्ने व्यवस्था रहेको छ । अध्यक्ष साहले पार्टी कार्यालयमा भएको तोडफोडको विषयमा छानविन भइरहेको बताए ।

नेता अन्सारीले पनि पार्टी कार्यालय तोडफोडमा आफ्नो संलग्नता नभएको भन्दै जिल्ला समितिले गरेको निर्णय अवैध रहेको दावी गर्दै आएका छन् ।