जनकपुर, बैशाख ४
धनुषामा मोटरसाईकल चोरी गरेको आरोपमा मोटरसाईकल सहित एक जना पक्राउ परेका छन् ।
आइतबार धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ६ स्थित सिरसया टोलमा एक जनाले मोटरसाईकल चलाइरहेको अवस्थामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १० बस्ने २१ वर्षिय भुने मुखिया पक्राउ परेका हुन् ।
चैत १२ गते रातिको समयमा जिल्ला धनुषा हंशपुर नगरपालिका वडा नम्बर ८ स्थित रामनगरा टोल बस्ने २० वर्षिय शम्भु मुखियाको घर आँगन भित्रबाट शम्भु मुखियाको नाममा दर्ता रहेको प्रदेश नं. २–००२–२४३३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चोरी भएको सूचना प्राप्त हुना साथ धनुषा प्रहरी कार्यालयबाट सई अमितकुमार रायको नेतृत्वमा खटि गएको प्रहरी टोलीले र ईलाका प्रहरी कार्यालय तारापट्टीको सहयोगमा फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिए ।
सो मोटरसाईकल खोजतलास गर्ने क्रममा मिति बैशाख ३ गते धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ६ सिरसिया टोल स्थितमा एक जना मानिस उक्त नम्बरको मोटरसाईकल चलाई जनकपुर तर्फ आउँदै गर्दा निजलाई रोकी निजको नामथर वतन सोधपुछ गर्ने क्रममा भुने मुखियालाई मोटरसाईकल सहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रायले बताए ।
पक्राउ परेका भुने मुखियासँग मोटरसाईकलको सवारी दर्ता किताब नरहेको र सो मोटरसाईकल धनुषाको हंशपुर नगरपालिका वडा नम्बर ८ स्थित रामनगरामा एक घरबाट चोरी गरी ल्याएको बताएपछि पक्राउ गरेको उनले स्पष्ट पारे ।
आरोपित भुने मुखियामाथि चोरी शिर्षक मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उनले बताए ।