जनकपुर, वैशाख ५
मधेश प्रदेशमा ढिला गरि सुरु भएको पाँच दलीय गठबन्धनको बैठक सोमबार बस्ने गरि स्थगित भएको छ ।
आइतबार जनकपुरधाम स्थित जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको कार्यालयमा बसेको बैठकमा ८ वटै जिल्लाको हरेक पालिकाको पार्टीगत अवस्थाबारे रिपोर्टिंग र विपक्षी दलको अवस्थाबारे रिपोर्टिंग गर्ने कार्य भएको जसपा मधेश प्रदेशका मुख्यसचिव दिनेशकुमार यादवले जानकारी दिए ।
जसपा मधेश प्रदेशका मुख्यसचिव यादवले भने, ‘जिल्लागतरुपमै गठबन्धनका नेताहरु हरेक जिल्लामा गएर वस्तुगत अवस्था बुझ्ने काम भएकाले बैठकमा आउन ढिला भएकाले बैठक निर्धारित समय भन्दा ढिलागरि सुरु भएको हो ।’
उनले गठबन्धन दल भित्र अहिलेसम्म कुनै पनि किसिमले भागवण्डाको कुराकानी नभएकाले यस सम्बन्धमा अफवाह फैलाउने कार्य भएको स्पष्ट समेत पारे ।
उनले भने, अहिले गठबन्धनको विषयमा धेरै अफवाह फैलिएको छ, कुनैपनि दलले मधेश प्रदेशमा भागवण्डा खोजेका छैनन् ।’ उनले अघि थप्दैँ भने, ‘जहाँ जहाँ गठबन्धन भित्र कुराकानी नमिलेको खण्डमा मैत्रीपूर्ण प्रतिष्पर्धा गर्ने सवालमा विपक्षी दल निकै कमजोर भएको ठाउँमा गठबन्धन भित्रै पनि प्रतिस्पर्धा हुन सक्छ ।’
उनले पर्सा जिल्ला मधेश आन्दोलनको उर्वर भुमी रहेकाले एमालेको नाम जनताले सुन्नै नचाहेको अवस्था रहेकाले त्यहाँ गठबन्धन भित्र पनि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा रहेको बताए । उनले पर्सामा पाँच दलीय गठबन्धन नै निर्वाचित हुने ठोकुवा गरे ।
बैठकमा नेपाली काँग्रेस मधेश प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, नेकपा माओवादी केन्द्र मधेश प्रदेश समितिका इन्चार्ज गणेश साह, जसपा नेपाल मधेश प्रदेश समिति अध्यक्ष रामबाबु कुमार यादव, नेकपा एकीकृत समाजवादी मधेश प्रदेश समितिका इन्चार्ज धर्मनाथ साहलगायतका नेताहरूको सहभागिता थियो ।