जनकपुर, बैशाख ५
गर्मीका कारण हुन सक्ने असरबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।
हाल भैरहवामा सबैभन्दा उच्च अधिकतम तापक्रम रहेको छ । त्यहाँको तापक्रम ४०.४ डिग्री सेल्सियस पुगेको छ । यता नेपालगञ्जको तापक्रम पनि ३९.५ डिग्री सेल्सियस पुगेको छ । धनगढीको तापक्रम ३८.९ डिग्री सेल्सियस पुग्दा जनकपुरको तापक्रम पनि ३८.८ डिग्री सेल्सियस पुगेको छ । सोमबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै मंगलबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। बुधबार पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् । भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते हिट वेब अर्थात तातो हावा चल्ने देखिन्छ ।